Logo

दलित बस्तीमा खानेपानीको समस्या



Spread the love

२ जेठ, स्याङ्जा ।

पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर २५ घर रहेको पुष्पगाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयवासीले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् ।

डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गरेकी ३६ वर्षीया सन्सारी विकले भनिन्, ‘एक गाग्री पानी ल्याउन एक घण्टा लाग्छ, बिहान उठेर पानी लिन नागास्थान धारामा जानुपर्छ । पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कूल पठाउनसमेत समस्या हुने गरेको छ ।’

बिहान बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकाले खेती किसान गर्नसमेत समस्या हुने गरेको मुक्तबहादुर विकले बताए । उनले भने, ‘त्यत्ति टाढाबाट ल्याएको पानी घरपरिवारले खाने कि गाईवस्तुलाई खुवाउने ?’ पानीको समस्याले गाउँलेले धेरै दुःख पाएको र चुनावका बेलामा सबैले यो गर्छौं त्यो गर्छौं भने पनि आफूहरुले कतैबाट सहयोग नपाएको उनले गुनासो गरे ।

किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले बिहान झिसमिसेमै उठेर पानी बोक्नुपर्ने भएकाले राम्रोसँग निद्रासमेत पुर्‍याउन नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘बिहान उठेर पानी बोक्ने कि घरको काम गर्ने निकै समस्या भएको छ ।’

पानीकै कारण कहिलेकाहीँ त विद्यालय जानसमेत ढिला हुने गरेको सुनिताले बताइन् ।

गाउँका वृद्धदेखि बालबच्चासम्म बिहान–बेलुका पानी बोकेरै अधिकांश समय बिताउन बाध्य छन् । लामो बाटो ठूलाठूला गाग्रीमा पानी बोक्नुपर्दा ढाडका साथै नशा च्यापिनेसम्मका समस्या आएको स्थानीय बासिन्दा बताउँछन् । गाउँमा पानीको समस्याले आफूहरु गाग्रीसँग सम्झौता गर्न बाध्य भएको र पानीकै अभावमा गाउँमा सरसफाइसमेत गर्न नसक्नुका साथै केही आयआर्जनका कामसमेत हुन नसकेको उनीहरुको गुनासो छ ।

बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले पुष्पगाउँको दलित बस्तीमा खानेपानी समस्या समाधानका लागि आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्पगाउँका बासिन्दालाई पानी खुवाएरै छाड्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्