२९ वैशाख, काठमाडौं । आईपीएल अन्तर्गत आज उपाधि भिडन्तमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र रोहित शर्माको मुम्बई इण्डियन्स आमने सामने हुदैछ । फाइनल खेल आज राति पौने ८ बजेबाट हैदराबादको घरेलु मैदानमा सुरु हुनेछ ।
चेन्नईलाई मुम्बईले पहिलो क्वालिफायरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै फाइनलमा पुनः मुम्बईसँगको भेट निश्चित गरेको हो ।
आईपीएल क्रिकेटमा यी दुवै टिम सबैभन्दा सफल टिम भएकाले आजको उपाधि भिडन्त निक्कै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । यी दुई टिम अहिलेसम्म तीन पटक उपाधि भिडन्त गर्दा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नईले हात पारेको छ।
अघिल्ला तीन खेलमा हारको बदला र उपाधि रक्षा गर्ने रणनीतिका साथ चेन्नई मैदान उत्रने छ । जारी सिजनमा तीनपटक चेन्नईलाई पराजित गरेको मुम्बई फाइनलमा पनि उसलाई हराउने बलियो आत्मविश्वाससहित मैदानमा उत्रने छ ।
विगतको आंकडा हेर्दा चेन्नईको पक्षमा बलियो देखिए पनि जारी सिजनमा भने मुम्बईले नै चेन्नईलाई पछि पारेको छ ।
मुम्बईका लागि रोहित शर्मा, हार्दिक पाण्ड्या, सूर्य कुमार यादव, क्वीन्टन डि कक, किरन पोलार्ड र जसप्रित बुमराह जारी प्रतियोगितामा फर्ममा रहेका छन् । मुम्बईमा युवा खेलाडीहरुको बाहुल्यता बढी रहेको छ भने चेन्नईमा अनुभवि खेलाडीको समिश्रणमा रहेको छ ।
चेन्नईको लागि धोनीको म्याच फिनिसरको भूमिका अविष्मरणीय रहने छ । त्यस्तै सुरेश रैना, फाफ डू प्लेसिस, शेन वाट्सन, ड्वान ब्राभो, हरभजन सिंह, इमरान ताहिरले पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।