२९ वैशाख, काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीका कारण अहिलेको फुटबलमा अन्य खेलाडीहरुको स्तरमाथि उठ्न नसकेको अभिव्यक्ति ब्यक्त गरेका छन् ।
यस सिजन उनको प्रदर्शन राम्रो भएपनि विश्व फुटबलमा मेसी र रोनाल्डोले गर्दै आएको प्रदर्शनका कारण अन्य खेलाडीको प्रदर्शन छायाँमा परेको बताएका हुन् । विगत एक दशकमा यी दुई खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दा अन्य खेलाडीबाट सोहि किसिमको अपेक्षा गर्न नहुने पनि उनले बताए ।
‘ मेसी र रोनाल्डोले पछिल्लो एक दशकमा गरेको प्रदर्शन सामान्य होइन । यो निकै विशेष छ र सायद दोहोरिन पनि कठिन छ । लगातार एकै स्तरको प्रदर्शन गरिरहन सहज हुँदैन,’ उनले थपे, ‘विगतमा एकै सिजनमा २० गोल गर्ने खेलाडी पाउन धौ-धौ हुन्थ्यो । अहिले मेसी र रोनाल्डोको आगमनपछि अन्य खेलाडीको प्रदर्शन पनि सोहि किसिमको होस् भन्ने अपेक्षा हुन्छ । त्यो सम्भव छैन ।’
फ्रान्सलाई पोग्बाले विश्वकप दिलाउँदै सिजन सुरुवात गरेका थिए । उनले यस पटक आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै १६ गोल पनि गरे । त्यसका बाबजुद पनि उनको प्रदर्शनलाई लिएर समर्थकहरु सन्तोष मानिरहेका छैनन् । यसलाई लिएर पोग्बा भने कति पनि चिन्तित देखिँदैनन् ।