२८ बैशाख, काभ्रेपलाञ्चोक ।
पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोकमा उपभोक्तालाई ऋणी बनाएर सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गरिने भएको छ ।
परियोजनाका लागि नगरसभाले हाल उपभोक्तालाई नगरको अगुवाइमा स्थानीय सहकारीमा ऋणी बनाइने र पछि उपभोक्ताबाट सहकारीमा पैसा असुलउपर गर्ने निर्णय गरेको हो । ‘जसरी पनि खानेपानी योजना सम्पन्न गर्नुपर्नेछ, यसबाहेक अर्को विकल्प नभएपछि नगरसभामा यस्तो निर्णय गर्यौँ,’ नगरप्रमुख महेश खरेलले भने ।
पाँचखालका छ हजार घरपरिवारले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्नेछ । कूल परिवार सङ्ख्यामध्ये १५ प्रतिशतले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो ।
बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने अनुसार नेपाल सरकार, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।