२८ बैशाख, लमजुङ ।
नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै अहिलेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ ।
विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ ।
मुद्दामध्ये ४२ पुरुषले दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए । पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा देवानी लागू हुनुअघि एक/दुई पुरुषको आउने गरेकामा नयाँ कानुनसँगै पुरुषले पनि महिलाले जस्तै गरी सम्बन्धविच्छेदको मुद्दा दिन थालेको जिल्ला अदालतले जनाएको छ ।
महिला र पुरुष गरी १४५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा ५५ मुद्दाको छिनोफानो हुन बाँकी छ । बालविवाह, बहुविवाह, वैदेशिक रोजगार, आधुनिक जीवनशैलीको नक्कल, इन्टरनेटको बढ्दो प्रयोग, देखावटीजस्ता कारणले सम्बन्धपिवछेदका घटना बढ्दै गएको जिल्ला अदालतले जनाएको छ ।