२८ बैशाख, चितवन ।
इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।
चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।
घटनापछि उनका आफन्त र स्थानीय बासिन्दाले प्रहरीको लापरवाहीले घटना भएको भन्दै प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै राजमार्ग अवरोध गरेका थिए। त्यस क्रममा प्रहरीले हवाइ फायर गर्नुका साथै केही सेल असुरग्यास प्रहार गरेका थिए। ३० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस्