भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्स फाइनलमा प्रवेश गरेको छ ।
दिल्लीले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
चेन्नाईको जितका लागि सेन वाट्सन र फाफ डु पेल्सीसले अर्धशतकीय पारी खेले । दुबैले समान ५० रन बनाएका थिए । वाट्सनले ३९ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए भने फाफ डुले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाए । त्यसैगरी अम्बायती रायडुले १९, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ५ रन बनाए ।
दिल्लीका लागि अमित मिश्र, अक्षर पटेल, इसान शर्मा र ट्रेन्ट बोल्टले समान एक-एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।
दिल्लीका लागि रिशभ पन्तले सर्वाधिक ३८ रन बनाए ।
बलिङतर्फ चेन्नाईका लागि हर्भजन सिंह, रवेन्द्र जडेजा, दीपक चहार र ब्राभोले समान दुई–दुई विकेट लिए भने इमरान तहिरले एक विकेट लिएका थिए ।
डिफेन्डिङ च्याम्पियन चेन्नाईले उपाधिका लागि यसअघि नै फाइनल पुगेको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।