२५ बैशाख, काठमाडौ ।
सरकारले चीनसँग भर्खरै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वयन प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वयन गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताए ।
मंगलबार अपराह्न सञ्चारकर्मीमाझ उनले भने, ‘पारवहन यातायात सम्झौता र यो सम्झौताको प्रोटोकलको कार्यान्वयनको अवस्थाका बारेमा पुनरावलोकन गर्न नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र चीनको यातायात मन्त्रालयका सचिवस्तरमा एक संयुक्त परामर्श संयन्त्र बनेको छ ।’ त्यसैगरी प्राविधिक विषयमा छलफल गर्न ती दुवै देशका ती निकायका सहसचिव र महानिर्देशक स्तरमा संयुक्त परामर्श समिति गठन भएको जानकारी पनि उनले दिए ।
सुक्खा तथा सामुद्रिक बन्दरगाह प्रयोग गर्न तीन वर्षअघि नेपाल र चीनबीच पारवहन ढुवानी सम्झौता भएको थियो भने यही वैशाख १६ गते सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको हो । यो प्राटोकल हस्ताक्षर भएसँगै लागू भएको छ जसले चीनको भूमि हुँदै जापान कोरियालगायत तेस्रो देशबाट वस्तु आयात–निर्यात गर्न पारवहन मार्ग खुला भएको छ ।