निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आग्रह गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई पुनःसंरचित ७ सय ४४ वटा स्थानीय तहको निर्वाचनका तयारीका विषयमा जानकारी गराउनुभएको हो । भेटमा प्रमुख आयुक्त यादवले तोकिएको समयमा निर्वाचन गर्न आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दैे विद्यमान अवस्थामा देखिएको असमझदारी सुल्झाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालसँग भएको भेटका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगको गतिविधि तथा निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुका साथै निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने विषयमा छलफल भएको बताउनुभयो ।
आयोगको धारणा सुनिसकेपछि प्रधानमन्त्री दाहालले आफूहरुलाई विश्वस्त पार्नुभएको बताउँदै प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीले सद्भावको विश्वसनीय वातावरण बनाउनेतर्फ आफ्नो प्रयास केन्द्रीत हुने बताउनुभएको जानकारी दिनुभयो । निर्वाचन आयोगले निर्वाचनका लागि कर्मचारी खटाउने र जिल्लामा निर्वाचन सामग्री पठाउने कार्य भइराखेको तथा मतपत्र छापिरहेको जानकारी दिँदै उहाँले तराई तथा अन्य जिल्लामा हुन सक्ने कठिनाइलाई कमी गर्दै लगिने बताउनुभयो ।