२४ वैशाख, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का झन्डै ६ महिना पछि घरेलु क्रिकेटमा फर्कदै छन् ।
जेठ १ गते देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रधानमन्त्री कप सञ्चालन हुँदैछ । पछिल्लो पटक उनले पुसमा भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सबाट खेलेका थिए । त्यस यता कुनै पनि घरेलु क्रिकेटमा पारसले सहभागिता जनाएका छैनन् ।
उनले प्रधानमन्त्री कप पहिलो पटक खेल्न लागेका हुन् । देश बाहिर रहेका कारण पछिल्लो दुइ संस्करण खेल्न पाएका थिएनन् । लामो समयसम्म एपीएफबाट खेल्दै आईरहेका थिए तर ,यसपटक पारसले प्रदेश नम्बर ३ बाट प्रधानमन्त्री कप क्रिकेट खेल्ने भएका छन् ।
पछिल्लो पटक वि.सं. २०७३ मा पारसले एपीएफबाट विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुद खेलेका थिए । जसमा एपीएफले स्वर्ण पदक जितेको थियो । प्रधानमन्त्री कपमा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ ।