२४ वैशाख, काभ्रेपलाञ्चोक ।
मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
उनले भने “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको संलग्नता देखिँदैछ, हिरासतमा राखी थप अनुसन्धान गर्दैछौँ ।” प्रहरीले सरिताका श्रीमान् सुदीप, ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई हिरासतमा राखी थप अनुसन्धान गर्न सोमबार १० दिनको म्याद थपेको छ ।
प्रहरीले वैशाख १३ गते सरितालाई घाँटीमा नीलडाम भएको अवस्थामा मृत फेला पारेको थियो । अघिल्लो दिन राति हत्या भएको र भोलिपल्ट मात्रै परिवारले प्रहरीलाई खबर गरेको अनुसन्धानबाट खुलेको छ ।
सरिताको हत्यापछि श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा डोरीले कसेको नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृतक अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै मृतकका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दाहालले वैशाख १३ गते नै प्रहरीमा जाहेरी दर्ता गरेका थिए ।