२० वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका नियमित सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय फुटबल क्लब सेथुमा अनुबन्धित भएका छन् ।
१६ गते भारत प्रस्थान गरेका सावित्रालाई सेथुले बिहीबार र अनितालाई शुक्रबार अनुबन्ध गरेको हो । भारतको फुटबल लिगमा सावित्राले ९ नम्बरको जर्सी लगाउँछिन् । त्यस्तै, अनिताले भने १० नम्बर जर्सी लगाउने भएकी छिन् । उनले घरेलु प्रतियोगिता तथा राष्ट्रिय टिमबाट भने ११ नम्बर जर्सी लगाउदै आईरहेकी थिइन् ।
भारतमै केही महिनाअघि सम्पन्न हिरो महिला गोल्डकपमा यी दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । सावित्रा सर्वाधिक गोलकर्ता चुनिएकी थिइन् । त्यस्तै, विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि यी दुबैले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी प्रतियोगितामा गरेको प्रदर्शनको आधारमासावित्रा र अनितालाई सेथुले अनुबन्धित गरेको हो ।