२० वैशाख, काठमाडौं ।
अहिले कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट बायर्न पुगेका उनलाई जर्मन क्लबले खरिद नगर्ने भएको छ ।
बायर्नले दुई क्लबको सम्झौता अनुसार जुन १५ सम्म रोड्रीग्वेजलाई खरिद गर्ने प्रस्ताव राख्न सक्छ । तर , उनको क्लबमा पछिल्लो प्रदर्शन र प्रशिक्षक निको कोभाचसँग सम्बन्ध हेर्दा रोड्रीग्वेजको जर्मन क्लबमा भविष्य देखिन्न । त्यसले गर्दा उनले रियल फर्कनुको विकल्प छैन ।
सिजनको सुरुवातमा जुलेन रियलको प्रशिक्षक रहँदा हामेसले स्पेन फर्कने चाहना राखेका थिए । त्यसै कारण बायर्नका प्रशिक्षक कोभाच रोड्रीग्वेजसँग निराश भएका हुन् । ८० मिलियन युरो खर्चेर रियलले हामेसलाई सन् २०१४ मा क्लबमा ल्याएको थियो । तर , उनी लामो समय क्लबमा जम्न भने सकेन ।
उनलाई युरोपका अन्य क्लबले पछ्याउने सम्भावना रहेको छ । उनको भविष्य अर्को सिजनका लागि बायर्न र रियलमा भने देखिँदैन ।