२० वैशाख, काठमाडौं।
शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि जाजरकोटका ६८ आयोजना अलपत्र परेका छन्। बजेट विनियोजन नहुँदा मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै छन्। मन्त्रालय खारेज भएसँगै भौतिक संरचना पुनर्निर्माण अलपत्र परेको हो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
०६४/६५ देखि ०७२/७३ सम्म तत्कालीन जिविस तथा जिल्ला प्राविधिक कार्यालयमार्फत मन्त्रालयले काम गराएको थियो। शान्ति मन्त्रालयको पुनर्निर्माण तथा पुनःस्थापना शीर्षकका ६८ वटा भौतिक संरचना अलपत्र परेका हुन् । पछिल्लो पटक मन्त्रालय खारेज भएको र स्थानीय तहले ती संरचनामा बजेट विनियोजन नगर्दा संरचना अगाडि बढ्न सकेका छैनन्।
३४ वटा सामुदायिक विद्यालय भवन, सात वटा साविक गाविस (हाल वडाभवन), ६ वटा सहिद स्मृति प्रतिष्ठान भवन, नौ वटा खानेपानी योजना, चार वटा जडीबुटी उत्पादन केन्द्र, तीन वटा सामुदायिक भवन, एक सडक आयोजना, एक सिँचाइ आयोजना, एक मन्दिर, एक विद्युत् आयोजना र एक ढल निकास आयोजना अलपत्र परेका हुन्।