१३ वैशाख, काठमाडौँ l
निर्देशक दिपा निरौलाको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलहरूमा प्रदर्शन भइरहेको छ l शुक्रवार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो l
पुनःप्रदर्शन पश्चात् विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भइरहेको छ । ‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट सङ्कलन भएको रकमको २५ प्रतिशत रकम पत्रकार रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ भने अन्य रकम पनि समाजसेवामा नै खर्च गर्ने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी कति खर्च गरिनेछ भन्ने कुरा पछि नै बताइने निर्माता तथा कलाकार गिरीले बताएका छन् ।
यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरूले युट्युब रिलिजका लागि अनुरोध गरिरहेका थिए । तर, निर्माण टिमले युट्युब रिलिजभन्दा अघि नै पुनः प्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् भने दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।