१३ वैशाख, काठमाडौँ । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरण अन्तर्गत नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ । खेल म्यानमारको रंगशालामा नेपाली समयअनुसार दिउसो ३:१५ बजेबाट सुरु हुनेछ ।
नेपाली टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो । नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले चीन प्रस्थान गर्नुअघि टिमको तयारी राम्रो भएकोले गर्दा अष्ट्रेलिया भन्दैमा नडराउने बताएका थिए । उनले टोली जितका लागि मानसिक र शारीरिक रुपमा तयार रहेको जानकारी दिएका थिए ।
फिफा वरीयतामा नेपाल १०३ तथा अष्ट्रेलिया छैंटौ औं स्थानमा छन् । समुह ‘ए’ मा नेपालले २८ अप्रिलमा उज्वेकिस्तान र ३० अप्रिलमा घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीः सरु लिम्बु (कप्तान), अन्जना राना मगर, रेविका राई, उषानाथ, निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा रानामगर, सलोनी राना मगर, सबिता राना मगर, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती, रश्मी कुमारी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।