Logo

चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् फलामखानीवासी



Spread the love

१३ बैशाख,पर्वत।

जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।

वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ ।

उक्त गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्मको ज्यान जाने गरेको छ भने वर्षेनी धेरै पशुधनको समेत क्षति हुने गरेको स्थानीयवासी ठाकुर रसाइलीले जानकारी दिए । उनले भने, ‘हरेक वर्ष मानवीय क्षति नभएको वर्षनै हुँदैन ।’

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलनसमेत रहेको छ । मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ, उनले भने । उनले भने, ‘मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छौँ ।’ दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन रहेको छ । उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो, उनले भने।

उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । विशेषगरी फागुनदेखि जेठसम्म बढी घटना घट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्