Logo

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ



Spread the love

१३ बैशाख,चितवन ।

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा. डा. हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए ।

ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए ।

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ ।

भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । भूकम्पले नभएर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्