१२ वैशाख,काठमाडौ ।
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का सांसद काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन्। भाजपाका सांसद उदित राजलाई काङ्ग्रेस अध्यक्ष राहुल गान्धीले भित्र्याएका हुन्।
उदितले पार्टी परिवर्तन गरेपछि ट्विटरमा लेखेका छन्, ‘आजदेखि म काङ्ग्रेस पार्टीमा आबद्ध भएको छु, यो अवसरका लागि पार्टी अध्यक्ष राहुल गान्धीलाई म धन्यवाद दिन चाहन्छु।’ काङ्ग्रेस पार्टीले पनि आफ्नो आधिकारिक माध्यममार्फत भाजपा सांसद उदित आफ्नो पार्टीमा प्रवेश गरेको फोटो सार्वजनिक गरेको छ।
दिल्ली निर्वाचन क्षेत्रबाट भाजपाले उम्मेदवार बन्न नदिएपछि उदित काङ्ग्रेस प्रवेश गरेको समाचारमा जनाइएको छ। दलित समुदायबाट राजनीतिक नेता बनेका उदितले सन् २०१४ को निर्वाचनमा भाजपाकै तर्फबाट जित हासिल गरेका थिए।
भारतमा लोकसभाको निर्वाचन भइरहेकाले विभिन्न नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम तीव्र भएको छ। सात चरणमा हुने निर्वाचन यही अप्रिल ११ मा शुरु भएको हो भने आउँदो मे १९ तारिखमा सकिने तय गरिएको छ।