१० वैशाख, काठमाडौँ।
युरोपकै शीर्ष क्लबहरु मध्य म्यानचेस्टर युनाइटेड पनि एक हो। पछिल्लो समय भने निक्कै फितलो प्रदर्शन गरेपनि क्लबको इतिहास निकै राम्रो रहेको छ। धेरै खेलाडीले यस क्लबबाट खेल्ने सपना देखेका हुन्छन्। पछिल्लो समय विश्व फुटबलका स्टार खेलाडीले म्यानचेस्टर युनाइटेडको जर्सी लगाएका छन् ।
केही यस्ता खेलाडीहरु पनि छन् जसले युनाइटेडको जर्सी लगाउने मौका पाएपनि तर त्यहाँ बसेर राम्रो प्रदर्शन गर्न सकेनन् । ती खेलाडीले युनाइटेड छाडेर अन्य कल्ब गएपछि भने आफ्नो स्तरको प्रमाणित गर्न सफल रहे । प्रस्तुत छन् ५ खेलाडी जसले युनाइटेड छाडेपछि आफ्नो करिअरलाई राम्रो दिशा दिन सके :
१. जेरार्ड पिके
सन् २००४ मा बार्सिलोना छाडेर युनाइटेड पुगेका डिफेन्डर पिकेले युनाइटेडमा उक्त जमानाका स्टार डिफेन्डरद्वय नेमान्जा भिदिच र रिओ फर्डीनान्डको सामना गर्नुपर्यो । खेल्ने कम मौका पाएपछि सन् २००८ मा उनी ५ मिलियन पाउन्डमा बार्सिलोना पुगे ।
२. पल पोग्बा
पोग्बाले सिनियर टोलीमा मौका नपाएपछि सन् २०१२ मा क्लब छाड्ने निर्णय गरे । सम्झौता सकिएपछि युभेन्टस पुगेका उनले इटालीमा चार वर्ष विश्वस्तरीय प्रदर्शन गरे । युनाइटेडले सन् २०१६ मा विश्व कीर्तिमानी रकम तिरेर उनलाई फिर्ता बोलाउनुपर्यो ।
३. क्रिस्टियानो रोनाल्डो
रियलमा झन्डै एक दशक उच्च लयमा फुटबल खेलेका रोनाल्डोलाई युभेन्टसले मोटो रकम खर्चेर अनुबन्धन गर्यो । युनाइटेडले त्यसबेला पाएको ८० मिलियन पाउन्ड अहिले निकै सस्तो सावित भएको छ ।
४. डिएगो फोर्लान
अवसर पाएर पनि आफ्नो छाप बसाउन नसकेका फोर्लान सन् २००४ मा स्पेनिस टोली भिल्लारियल गए । युनाइटेडका लागि ६३ खेलमा जम्मा १० गोल गरेका उरुग्वेका फरवार्ड फोर्लानले भिल्लारियलमा भने पहिलो सिजनमा नै २५ गोल गरे ।
५. विल्फ्रिड जाहा
युनाइटेडमा रहेर जम्मा ४ खेल खेलेका उनले दुई वर्षपछि ६ मिलियनमा क्रिसटल प्यालेस पुगे । त्यसपछि लगातार राम्रो प्रदर्शन गरेका उनलाई ठूला क्लबहरुले अनुबन्धन गर्ने प्रयास गरिरहेका छन् ।