९ बैशाख, बागलुङ ।
शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो ।
खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुपर्यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।
क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा बारुणयन्त्र (दमकल) भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे ।
आगलागीले क्षति पुर्याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् । तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन् । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ । रासस