सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ । सरकारी मात्र नभएर सार्वजनिक निकायबाट समेत आयोजना हुने कार्यक्रममा मदिराजन्य पदार्थको प्रयोग र वितरण पूर्ण रूपमा निषेध गर्ने नीतिमा उल्लेख छ । नीतिमा बिहान ५ देखि साँझ ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाइने व्यवस्था छ । फुटकर मदिरा किन्नेले एक दिनमा न्यूनतम एक लिटरभन्दा बढी खरिद गर्नसमेत बन्देज लगाइएको खबर आजको कान्तिपुरमा छ ।
सार्वजनिक क्षेत्र एवं कार्यस्थलनजिक मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने व्यवस्था पनि नीतिमा छ । सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरन्जन स्थलहरू, निश्चित धार्मिक, पुरातात्त्विक, ऐतिहासिक स्थलहरू र सरकारले आवश्यक ठानेका अन्य स्थानलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने भएको छ । मदिरा बोतलको न्यूनतम ७५ प्रतिशत भागमा यसको सेवनले भएको कलेजोको सिरोसिस, मुटुरोग आदिको चित्रसँगै ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ जस्ता चेतावनीमूलक सन्देश हुनुपर्ने छ । यस्तै बोतलमा मदिरा उपभोग गर्ने अन्तिम मिति र यसको गुणस्तरसमेत उल्लेख गरिनुपर्ने छ ।
छापा, विद्युतीय सञ्चार माध्यम, इन्टरनेट, इमेल, होर्डिङ बोर्डलगायत कुनै पनि सञ्चारमाध्यम वा तरिकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रवद्र्धन, बजारीकरण गर्न नपाइने व्यवस्था नीतिमा गरिएको छ । यस्ता सूचना, चित्र, सन्देश, सामग्री, विज्ञापन, प्रायोजन मात्र नभई समाचार प्रकाशन र प्रसारण कार्यलाई समेत निषेध गरिएको छ । नीतिमा चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरन्जनात्मक/समाचारमूलक वा प्रायोजनात्मक श्रव्यदृश्य कार्यक्रममा कलाकारको प्रयोग वा ब्रान्ड, लोगो अन्य परिचय झल्कने गरी मदिराको प्रवद्र्धन हुने गरी अभिनय वा विज्ञापन वा प्रचारप्रसार गर्नसमेत निषेध गरेको छ ।
‘मदिरा नीतिमा भएको व्यवस्था कार्यान्वयन, अनुगमन र कारबाहीका लागि स्थानीयस्तरमै छुट्टै संरचना र सञ्जालसमेत निर्माण गरिने छ,’ स्वास्थ्यमन्त्री गगन थापाले कान्तिपुरसँग भने, ‘यो नीति लागू भएर मदिरा नियन्त्रण हुँदा नसर्ने रोगले हुने मृत्युदर र स्वास्थ्य जटिलतामा उल्लेख्य कमी आउने छ ।’ मृगौला, मुटु, कलेजोका रोग तथा क्यान्सरजस्ता नसर्ने रोगको उपचारमा बर्सेनि अर्बौं खर्च हुने गरेको बताउँदै उनले भने, ‘क्षणिक लाभका लागि मदिरा, चुरोट आदिबाट आउने करलाई बढी महत्त्व दिने स्थिति समाप्त गर्नुपर्छ । मदिरा र चुरोटको करबाट सरकारले जति कमाउँछ त्योभन्दा बढी यसले जन्माउने रोगको उपचारमा खर्च हुने गरेको छ ।’ विश्वभरि नै २० देखि ३९ वर्षको उमेर समूहमा हुने कुल मृत्युको २५ प्रतिशत मदिराले गर्दा हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को तथ्याङ्क रहेको पनि उनले बताए ।
यो नीति कार्यान्वयनका लागि कानुनको मस्यौदा बनाउने कामसमेत सुरु भइसकेको छ । स्वास्थ्य मन्त्री थापाका अनुसार करिब एक महिनाभित्र उक्त कानुनी व्यवस्थालाई संसद्मा पुर्याइने पनि थापाले बताए । नीतिमा गर्भवती महिलालाई मदिरा खरिद बिक्री र सेवन गर्नसमेत निषेध गरिएको छ । यस्तै, बालबालिका र महिलालाई बलजफ्ती मदिरा खुवाउन नपाइने पनि उल्लेख छ । नीतिमा कुनै पनि मदिरा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेको गुणस्तरहीन मदिरा सेवनबाट उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या आएको वा मृत्यु भएको प्रमाणित भए उत्पादकको उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउनुका अतिरिक्त क्षतिपूर्तिसमेत भराइने व्यवस्था गरिएको छ । मुटु, कलेजो र विभिन्न प्रकारको क्यान्सरको मूल कारण मदिराको हानिकारक सेवन रहेकाले सरकारले यसलाई नियन्त्रण गर्न मदिरा नीति ल्याएको हो ।
डब्लूएचओका अनुसार बर्सेनि विश्वभरिमा ३३ लाखको मृत्यु मदिराको हानिकारक उपयोगले गर्दा हुन्छ । यो सङ्ख्या विश्वभरि हुने समग्र मृत्युको ५.९ प्रतिशत हो । मदिराको हानिकारक उपयोग दुई सय रोग र चोटपटक हुने अवस्थाको कारक हो । विश्वव्यापी रूपमा हुने ५.१ प्रतिशत रोग र चोटपटकको जिम्मेवार मदिरा सेवनलाई मानिन्छ ।