४ बैशाख चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छन् । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका ४०० को हाराहारीमा गोही रहेका छन् । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएका छन् ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन ।
नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन् । नदीहरू प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।