स्कुल लेभलका सबै विद्यार्थीहरूको परीक्षा सकिए पनि अहिले +२ (एघार र बाह्र दुबै) का विद्यार्थीहरूको परिक्षा आउने तरखरमा छन् । अरुबेला जतिसुकै बेवास्ता गरे पनि परीक्षा भनेपछि जो-कोहीको टाउको दुखाइको विषय हुन्छ । आखिर सबैलाई पास हुनै छ, कोहीलाई राम्रो अंक ल्याएर त कसैलाई जसोतसो नै भए पनि । त्यसैले परीक्षाको समय सबैको भागदौड-दौडधुप खुबै चलिरहेको हुन्छ ।
परीक्षाको समयमा यति सम्म हुन्छ कि, कहिल्यै नबोल्ने साथीसँग पनि नोट माग्नु पर्ने बाध्यता आइलाग्छ । शिक्षकले पनि एकचोटि अप्ठेरो लागेको पाठ दोहोर्याइदिए हुन्थ्यो जस्तो लाग्न थाल्छ । कस्ता प्रश्न आउने हुन् ? कहाँ-कहाँबाट आउने हुन् ? पढेका आउने हुन् कि नपढेका ? सबैलाई तनाब सुरु हुन्छ ।
त्यतिमात्र कहाँ हो र ! उता च्याम्पियन्स लिग पनि चलिरा’छ । आइपीएल नि चलिरा’छ । साथीभाइ, टोलछिमेक सबै हल्ला गर्दै हेर्छन् । कसरी मन बाँधेर पढेर बस्नु ? तनाब झन् थपिन्छ ।
यसरी हेर्दा निकै कम समयमा धेरै थोक पढ्नु पर्ने हुन्छ । यस्तोमा हाम्रो चाहना हुन्छ कि एकपटक पढेकै भरमा सबै दिमागमा घुसोस्, र पछिसम्म पनि टिकिरहोस् । यसका लागि केही सामान्य कुरामा ध्यान पुर्याइयो भने मात्र पनि राम्रो अंकमा उत्तीर्ण हुन सकिन्छ ।
जान्नुहोस्, नजिकै आइसकेको परीक्षाको तयारीका लागि ध्यान दिनुपर्ने कुराहरूः
पहिलो कुरा
एकोहोरो पढिरहनुभन्दा पनि पढेको कुरालाई किताब वा कापी छोपेर सम्झने प्रयास गर्ने वा लेख्ने प्रयास गर्ने । यसरी आफूले पढेको कुरा हामी हिँडिरहेका बेला, खाना खाने बेला वा ट्वाइलेट गएका बेला पनि सम्झिन सक्छौँ । सम्झने प्रयास गर्दा कतै बिर्सिएजस्तो भयो भने, तुरुन्त किताब वा कपी खोलेर हेर्ने ।
दोस्रो कुरा
दिनमा एकपटक (सकेसम्म बेलुकी) नजिकका साथीभाइसँग भेट्ने र आफूले दिनभरी पढेको कुरालाई वर्णन गर्ने ।
भनिन्छ, ८० प्रतिशत ज्ञान मान्छेले आफूले जानेको कुरा अरूलाई बुझाएर प्राप्त गर्छ । यसो गर्दा पढेको कुरा बिर्सने चान्स एकदमै कम हुन्छ । सकेसम्म त विचार मिल्ने साथीहरूको समूह तयार गरेर पढ्नु उपयुक्त हुन्छ ।
तेस्रो कुरा
आफूले जे पढिरहेको छ, त्यही टपिकबाट परीक्षामा प्रश्न आउँछ भन्ने विश्वाश लिएर पढ्ने । कतिपय विद्यार्थीले हरेक टपिक पढ्ने बेलामा, ‘यसबाट त नआउला’ भन्दै लापर्वाही गरेको पाइन्छ । यस्तो भयो भने पढ्नुपर्ने कुरा सबै समेटिन्छ र सजिलो हुन्छ ।
चौथो कुरा
प्राय: विद्यार्थीहरूमा परीक्षाको प्रेसर लिएर रात-रातभरी निद्रा माया मारेर पढ्ने बानी हुन्छ । शरीरलाई चाहिनेजति निद्रा पुगेन भने पढाइ अझ बिग्रन्छ । रातभरी पढिएको छ भने, दिउँसो चैँ मज्जाले सुत्दा हुन्छ ।
पाँचौ कुरा
पढ्दा निद्रा लाग्ने समस्या छ भने पेट अटेस-मटेस हुने गरी नखाऊँ । बेला-बेलामा चिसो पानीले मुख धुने गरौं । चिया वा कफी पनि निद्रा भगाउने उपाय हुन सक्छ । पढ्ने बेलामा मुखमा चकलेट वा चुइगम हाल्ने हो भने त्यसले पनि निद्रा लाग्ने समस्यामा केही कमी ल्याउँछ ।
छैटौं कुरा
अति आवश्यक सूत्र छन् भने देखिने गरी भित्तामा टाँस्ने । बारम्बार एउटै कुरा देख्दा त्यसको सम्झना भैरहन्छ र हत्तपत्त बिर्सिदैन ।
सातौं कुरा
मिल्ने जति कुरालाई आफ्नो अनुकूलको सूत्रमा वा सर्ट फर्ममा वा कोड भाषामा ढालेर पढ्ने ।
आठौं कुरा
दिमागमा घुसिरहेको छैन भने जबर्जस्ती नपढ्ने । त्योभन्दा राम्रो आफूलाई के गर्न मन लागिरहेको छ, पहिल्याउने अनि केही समय रिफ्रेसमेन्ट लिने । परीक्षा छ भन्दैमा जतिबेला पनि हातमा किताब लिएर बस्नुपर्छ भन्ने छैन ।
नऔं कुरा
हाम्रो खराब बानी के छ भने हामी परीक्षामा मात्र पढ्छौँ । यसले ठूलो भार पर्छ । सुरुदेखि नै थोरै-थोरै पढ्दै जाने हो भने, परीक्षाका बेला अनावश्यक लोड हुँदैन ।
दशौं कुरा
किताब हेर्दा आँखा दुख्यो भने आवाजसहित पढ्ने र मोबाइलमा रेकर्ड गर्ने अनि त्यसलाई बारम्बार सुनिरहने । यसरी तयार भएको अडियो बुक बाहिर हिँड्दा पनि सुन्दै हिँड्न सकिन्छ ।
सारांशमा, परीक्षा शैक्षिक जीवनको महत्वपूर्ण र निर्णायक हिस्सा हुने हुँदा परीक्षाप्रति सचेत हुनु त पर्छ नै, राम्रो तयारी गरेर परीक्षालाई एउटा अवसरको रूपमा उपयोग पनि गर्नुपर्छ । परीक्षा अघिका समयलाई सदुपयोग गरेर उत्कृष्टता हासिल गर्ने बाटोतर्फ अग्रसर हुनुपर्ने आवश्यकता हुन्छ ।