२९ चैत, काठमाडौं ।
युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले जित निकालेको छ । पहिलो लिगमा बेन्फिकाले जर्मन क्लब फ्रान्फर्टलाई ४–२ पराजित गरेको थियो । त्यस्तै भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गरेको हो ।
खेलको २०औं मिनेटमा फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो । इभान एन डिका सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा जोआओले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४०औं मिनेटमा लुका जोभिचले बराबरी गोल फर्काए । ४३औं मिनेटमा जोआओले गोल गरेपछि बेन्फिकाले पहिलो हाफमा २–१ को अग्रता बनायो । ५०औं मिनेटमा रुवेनले गोल गरेपछि बेन्फिका ३–१ ले अघि बढ्यो । ५४औं मिनेटमा जोआओले ह्याट्रिक पुरा गरे । ७२औं मिनेटमा गोन्कालो पासिन्सियाले गोल फर्काए पनि टोलीलाई हार बचाउन सकेन ।
अर्काे खेलमा भ्यालेन्सियाले भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सेमिफाइनल आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनाएको छ ।भ्यालेन्सियाको जितमा गन्कलो गइडेसले दुई तथा ड्यानियल वासले गोल गरे । भिल्ला रियलका सान्टी कार्जाेलाले एक गोल गरे ।