तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुर्व्यसनमा फसेकोे हुन सक्छन् ।
झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।
सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् । प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुव्र्यसनीको सङ्ख्या बढ्दै गए
को तथ्याङ्कले देखाएको छ ।
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था यो सङ्ख्या दुई लाखभन्दा बढिरहेको जिकिर गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागु पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौँ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको संयुक्त अध्ययनले देखाएको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्द लागुपदार्थको दुव्र्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको बताउँन् । छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्ने उनको भनाइ छ ।
छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको सङ्गतबाट टाढा राख्ने, धूमपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ ।
गृह मन्त्रालय, लागुऔषध नियन्त्रण कार्यक्रमका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले विशेषतः आफ्ना सन्तान नौ कक्षामा पुग्दादेखि अभिभावकले उसको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिए । “छोराछोरीले लागुऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्छ” उनी भन्छन् । दुव्र्यसनीका लागि विभिन्न सङ्घसंस्थाले हाल ३०० पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
अफिम, मर्फिनन, कोडिक, हेरोइन, पेथिडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन् ।
त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो ।
बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महंँगा लागुऔषको प्रयोग बढेको भेटिन्छ ।
ब्युरोका प्रमुख चन्द लागुऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको अनुभव सुनाए । उनले नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’का रुपमा प्रयाग गर्ने गरेको बताउनुभयो । कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घीय सङ्स्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुव्र्यसनी छन् । त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ । विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ । सन् १९८८ देखि राष्ट्र सङ्घले जुन २६ लाई अन्तर्राष्ट्रिय लागुऔषधविरुद्धको दिवसका रुपमा मनाइँदै आएको छ । यो दिवस आइतबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।