२२ चैत वीरगञ्ज । बारा र पर्सा जिल्लाका हावाहुरी पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ ।
हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न ठाउँमा दाता तथा सङ्घसंस्थाहरुले आफू खुशी राहत वितरण गर्दा वास्तविक प्रभावित परिवारले राहत नपाएर अन्य व्यक्तिहरुले राहत पाउने गरेको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्यमा कडाइ गर्दै सो एकद्वार प्रणाली लागू गरेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि कुनै पनि व्यक्ति वा सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने जस्ता व्यवस्था गरेको छ ।