२० चैत्र, २०७५ । सल्यानको कुमाखमा पहिलो पटक गाडी पुग्दा सो क्षेत्रका स्थानीय बासिन्दाहरूमा खुसीयाली छाएको छ ।
विभिन्न सरोकारवाला निकायहरूको सहयोग र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १ करोड २२ लाख ३५ हजार रुपैयाँमा सम्पन्न भएको बाटोमा सल्यान रुकुम यातायात व्यवसायी समितिको रा १ ख ८१४ नम्बरको बस पहिलो पटक कुमाख हुँदै हिले सम्म पुगेको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत राप्ती लोकमार्गको चाख्लीघाट, कुमाख, जिमाली, त्रिवेणी हुँदै रुकुम चौरजाहारी जोड्ने सडकको उद्घाटन गर्द्वै पूर्व सामान्य प्रशासन मन्त्री तथा सङ्घीय सांसद टेकबहादुर बस्नेतले जुनसुकै विकास निर्माणका कार्यहरू जनतासँग जोडिनु पर्ने बताए ।
कुनै पनि विकास निर्माणका कार्यहरूले जनतालाई सम्बोधन गर्न नसके त्यसको औचित्य नरहने बस्नेतले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद बस्नेतले उक्त मोटर बाटोको औचित्य फरक किसिमको रहेको उल्लेख गरेका थिए । सल्यान जिल्लाको धार्मिक तथा पर्यटकीय सम्पदाको रूपमा रहेको कुमाख लेखको भविष्यलाई सो बाटोले समृद्धि तिर लग्ने उनको बुझाइ रहेको थियो । उक्त कुमाख लेख अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुने र त्यसले जिल्लाको आर्थिक स्तरलाई माथि लैजाने बस्नेतले बताए ।
उनले उक्त बाटोको स्तरबृद्वीका लागी सम्बन्धित गाउँपालिकाले पहल गरे आफ्नो कार्यकाल भित्र टु ल्याण्ड बाटो निर्माण संघीय सरकारको बजेटबाट गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समयमा जिल्ला उज्यालो कार्यक्रम अन्तर्गत सल्यान जिल्लामा बिजुली बिस्तार गर्नको लागी अहिले सम्मकै बढी रकम विनियोजन गरिएको बस्नेतले जानकारी गराए । उनले अहिले दुइतिहाईको सरकारले नीति, नियम र कानुन बनाउन लागिरहेको र सबै भन्दा महत्त्वपूर्ण कार्य संघियताको विरोध गर्दै जनमत संग्रहबाट स्वतन्त्र मधेसको माग गर्ने राजनीतिक शक्तिलाई राज्यको मूलधारमा ल्याउन सफल भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले राजनैतिक भागबन्डाका कारण विकासको गतिले तीव्रता नपाउने बताए । उनले जिल्लाको विकासका लागी सबै एक भएर लाग्न आवश्यक रहेकोमा जोड दिएका थिए । अर्का अतिथि जिल्ला समन्वय समितिका उप-प्रमुख हरिबहादुर बुढाथोकीले सङ्घीय संरचनाको अभ्यास भइरहेको र त्यस अभ्यासले जनतालाई सबल र सक्षम बनाउने बताए । उक्त कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गाडी उद्घाटन हुनु राम्रो उपलब्धि भएको र त्यो भन्दा ठुलो यसलाई निरन्तरता दिनु महत्त्वपूर्ण कुरा भएकोमा जोड दिए । उनले मोटर बाटोको स्तर उन्नति गर्नको लागी नियमित पिटौलिको आवश्यक पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले स्थानीय तहको विकासका लागी दक्ष मानव शक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइन । उनले कुमाखमा पहिलो पटक गाडी पुग्नु भनेको कुमाख लेखको सुनौलो भविष्य निर्माणको सूचक भएको बताइन । कार्यक्रमका अर्का अतिथि शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले उक्त सडकले आफ्नो गाउँपालिकाको महत्त्वपूर्ण क्षेत्रलाई समेटेको र त्यस बाटोको स्तर वृद्धिमा आफूहरू लागी पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, कुमाख गाउँपालिका उपाध्यक्ष डिल्ली राज शर्मा, शिद्वकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा बोहरा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीय बासिन्दाहरूमा खुसीयाली छाएको थियो भने गाडी चालक, सहचालक र गाडिलाई स्थानीय बासीहरूले फुलमालाले स्वागत गरेका थिए ।