१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १४ औं खेलमा राजस्थान रोयल्सद्वारा रोयल च्यालेन्जर्स बैंग्लोर ७ विकेटले पराजित भएको छ । यो उसको लगातार चौथो हार हो । बैंग्लोरले यसअघि चेन्नाई सुपर किंग्स, सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्ससँग पराजय ब्यहोरेको थियो । यससँगै विराट कोहलीको कप्तानी रहेको बैंग्लोर शून्य जितसहित अंकतालिकाको पुछारमा पुगेको छ ।
सवाई मानसिंह रंगशाला जयपुर भएको खेलमा बैंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य, राजस्थानले निर्धारित २० ओभर पुग्न १ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ५८ रन बनाएको थियो ।
ओपनिङमा आएका कप्तान विराट कोहलीले २५ बलमा २३ रनमात्र बनाउन सके । तर अर्का ओपनर पार्थिव पटेलले ४१ बलमा ६७ रनको जिम्मेबार पारी खेले । उनले ९ चौका र १ छक्का प्रहार गरे । भिल्लियर्सले १३ रनमात्र बनाउँदा सिमरन हेटमायर १ रनमै आउट भए । मार्कस स्टोनिसले २८ बलमा ३१ र मोहम्मद अलीले ९ बलमा १८ अविजित रन बनाए ।
बलिङतर्फ लेग स्पिनर श्रीयास गोपालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १२ रन खर्चिएका हुन् । कोहली र भिल्लियर्सको विकेट यिनै गोपालले लिएका थिए ।
राजस्थानको जितका लागि जोस बट्लरले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र १ छक्काको मद्दतले ५९ रन को योगदान गरे । त्यसैगरी स्टेभेन स्मिथले ३८, राहुल त्रिपाठी २८, अजिंक्य राहणेले २२ र बेन स्टोकले १ रन बनाए ।
बैंग्लोरका लागि युज्भेन्द्र चाहलले २ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिए ।