Logo

मुस्ताङमा सुख्खा पहिरो ठूलो रुपमा धनजनको नोक्सानी



Spread the love

चैत ११, २०७५ काठमाडौँ

मुस्ताङको घरपझोङ गाउँपालिका- १ छैरोकाे तिब्बतियन क्याम्पनजिकै सुख्खा पहिरो गएको छ । गएराति २ बजेबाट जान सुरु गरेको पहिरोले ठूलो रुपमा धनजनको नोक्सानी गरेको छ । बेनी-कोराला सडक खण्डअन्तर्गत छैरो, चिमाङ जाने झोलुङ्गे पुलबाट करिब ५ सय मिटर जति टाढा एउटा सुन्दर बस्ती रही आएको छ । लामो समयदेखि उक्त तिब्बतीयन क्याम्पमा ६३ घरधुरी बस्दै आइरहेका छन्। यद्दपि ५० घरधुरीमा मात्रै मानिसहरू बस्दै आइरहेका थिए ।

 

प्रहरी कार्यालय मुस्ताङका हवलदार भन्छन् ‘ गए रातिबाट आउन सुरु गरेको सुख्खा पहिरोले बिहानसम्म करिब २५-३० लाखसम्मको भौतिक क्षति गरिसकेको र गाउँ आवत जावत गर्ने मुख्य बाटो सबै पहिरोले बगाएको छ’ ।
प्रहरीका अनुसार अहिले पुरै बस्ती जोखिममा रहेको छ र पहिरो रोकियता पनि अझै धेरै जोखिम निम्त्याउन सक्नेछ। हालसम्म ३ ओटा सार्वजनिक शौचालय, एउटा स्वास्थ्य चौकी र ८ घर उच्च जोखिममा रहेको छन् ।

३ सय मिटर लामो बाटो पूरै पहिरोले बगाउन सुरु गरेको हुनाले चाँडोभन्दा चाँडो बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको छ ।

गाउँ प्रमुख नुर्बु फुन्चोकले हिजो मात्र ग्याबिन जाली भर्नका लागि डोजर लगाएर खन्ने काम भएको बताए । ‘हिजो मात्र डोजरले खनेका थियौँ तर राती अचानक पहिरो आयो’ । फुन्चोकका अनुसार रातभर नसुती छिमेकीहरूलाई सुरक्षित स्थान तर्फ लैजाने कामका साथै सामान ओसारपसार गर्नतिर लागेका थिए ।

‘बरु छिटोभन्दा छिटो सम्बन्धित सरोकारवाला निकायहरूले आवश्यक सहयोग गर्न जरुरी छ ।’यसमा खोला किनारबाटै बाँध लगाउने र थप जोखिम नहोस् भन्नका लागि ठुला-ठुला सल्लाका रुखहरू काट्न जरुरी रहेको उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्