१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा ‘आइसेक इन काठमाडौँ’ ले काठमाडौँको प्रेसिडेन्सियल कलेजमा हिजो एक कार्यक्रमका माझ भव्यतापुर्वक नारी दिवस मनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट क्षमताका कारण आफ्नो क्षेत्रमा वर्चस्व बनाइरहेका युवा महिलाहरूको प्यानल डिस्कसन, कविता वाचन तथा मन्तव्य कार्यक्रमहरू विशेष आकर्षणको रुपमा रहेका थिए ।
‘आइसेक इन काठमाडौँ’की प्रेसिडेन्ट अभीनी दीक्षितको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, ‘आइसेक इन नेपाल’का उप-प्रमुख सुदिपन मल्लिक र ‘आइसेक इन नेपाल’का प्रमुख अभिषेक भोइटेले नारी र आइसेकबारे महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरेका थिए ।
लगत्तै, ‘आइसेक इन काठमाडौँ’की प्रियङ्का कोइरालाले “म को हुँ नारी ?” कविता मार्फत नारीका पिडाका कथाहरू, समाजमा नारी प्रति गरिने व्यवहार र त्यसलाई चिरेर कसरी अघि बढ्ने भन्ने मर्म सहितको भावना प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै शैली बस्नेतको ‘स्ट्यान्ड अप प्रस्तुति’ले वातावरण उल्ल्हासमय बनाएको थियो । शैली बस्नेत कम उमेर समूहमा सगरमाथा चढ्ने माहिलाहरूको सुचीमा पर्दछिन्, जो धेरै नेपाली महिलाहरूको प्रेरणाको श्रोत हुन् ।
प्यानल डिश्कशनमा वर्किङ्ग एज एन्जल्सकी संस्थापक शिवानी, सोचवेयरकी सि.इ.यो ईडा रिजाल र पारलिङ्गी समूहकी सामाजिक अभियन्ता रुकशना कपाली सँग अपेक्षा आचार्यले मोडरेट गरेकी थिइन् ।
प्यानल डिस्कसन विशेषतः समाजमा नारीले भोग्ने समस्या र त्यसको समाधानमा कस्तो भूमिका निर्वाह गर्ने भन्नेमा आधारित थियो ।
आइसेक इन नेपालमा ८०% भन्दा बढी नारी छन्, जसले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिनरात नभनि काम गरिरहेको छ ।