हेर्नुहोस् आगन्तुक महानुभावहरु
फर्केर उत्तर तर्फ
तपाईहरुले कहिल्यै नसुन्नु भएको
तपाईहरुले कहिल्यै नदेख्नु भएको
तर एउटा अध्यारो इतिहासको जीउदो साक्षी
त्यही हो कुमाख ।
उ आरोह, अबरोह आफै भित्र लुकाउछ र
दुई हातले छट्के टोपी मिलाएर
हामी तिर मुसुमुसु मुस्कान फ्याकीरहन्छ
आफ्नो शिर सधैँ उचो नै राखेर
शतिसाल जस्तै बलियो
बनाएर आफूलाई
सधैँ ठिड्ग उभि नै रहन्छ ।
कुमाख सधैँ सपनामा आइरहने
मेरो शैसवको साथी
मैले पहिलो पटक आँखा खोल्दा
उ नै आएर उभिएको थियो मेरो सामु
उसकै हात पकडेर मैले ताते गर्न सिके
उसले सुसाएको सुसेलीमा मैले स्वास फेर्न सिके
मलाई तोते बोल्न सिकाएको पनि उसैले हो
मेरी आमाले जीउ भरी तेल लगाइदिदा
उसैले पठाइ दिएको हो मलाई
बिहानको न्यानो घाम र मन भरीको मीठो माया
हो उसैले पठाइ दिएको हो ।
डालो भरी काफल पठाइ दिएको पनि उसैले हो
भिर पाखामा लटरम्म फलेका ऐसेलु टिप्न
सिकाएको पनि उसैले हो
छाती भरी लाली गुराँस राताम्मे फुलाएर
म भित्र खुसी फुलाइदिएको पनि उसैले हो
डाफे, मुनाल र मैनासंग तालमा ताल मिलाएर
सोरठी, पैसरी र टप्पा नाच्न सिकाएको पनि उसैले हो
धुले पाटीमा ढुङ्गाले अक्षर कोर्दै
क ख रा पढन सिकाएको पनि उसैले हो ।
आगन्तुक महानभावहरु
हो उसैले हो ।
शान्ति सिकाएथ्यो मलाई कुमाखले
भाइचारामा बाँच्न सिकाएथ्यो
कहिले नबिराउनु कहिले नडराउनु
हिडिरहनु अनवरत आफ्नो बाटोमा मात्र
दायाँबायाँ कसैको बाटो नटेक्नु
दिल ठुलो पार्नु , मन सफा राख्नु
अन्यायको अगाडी घुडा नटेक्नु
मलाई यो पाठ सिकाएको पनि उसैले हो ।
हेर्नुहोस् आगन्तुक महानुभावहरु
फर्केरउत्तर तर्फ
कति चौडा छ उसको छाती
कति तेजस्वि छ उसको अनुहार
कति उचो छ उसको शिर
धुवै धुवाले छोपिएर निसासिरहेको
हाम्रो दारुण समयमा
पठाइ रह्यो स्वच्छ प्राण बायु उसले
दनदन हामी बलिरहेको बेला पनि
सिकाइ रह्यो धैर्य र संयमको पाठ
उ आफै आफै बलि रह्यो
उ आफै आफै जलि रह्यो
तर कहिल्यै विचलित अनुहार देखाएन उसले हामीलाई
फकाइ रह्यो, फुल्याइ रह्यो
आफूले निराशा पिएर
आम्रा लागि आशाको दियो जगाइ रह्यो ।
भिष्मपितामह बनी रह्यो उ हाम्रो
कौरब र पाण्डबका रणसंग्रामहरु मौन बनेर हेर्दै
अर्जुनका बाण शैयामा सुतेर
खोकिलामा यत्नर्पूबक लुकाएर परेवाका बचेराहरु
हामी तिर फुरर फुरर उडाइरहने
त्यो कुमाख यही हो महानुभावहरु ।
उसकै काखबाट ताते गर्दै उठेर राष्ट्रिय ब्यतित्व बने पछि
फेरी उसलाई समातेर फर्की नआएको जेठो
उसकै काखबाट औधि रमाएर खेल्दै
हिडन कुदन सिके पछि देशै त्यागेर निस्केको कान्छो
कसलाई पो भेदभाव गर्यो र उसले
दुवै हातहरू फैलाएर
शुभ तरड.हरू पठाइरह्यो उसले
गाउँ पारी, सीमा पारी, गोलाद्र्घ पारी ।
यही हो त्यो कुमाख आगन्तुक महानुभावहरु
म आएकी छु जसलाई छोडेर टाढा टाढा हुनु परेकोमा क्षमा माग्न
पितामह बनेर रित्तो घर कुरेर बसिरहेको
कुमाखबाट शिर मुर्कुरायर आशिरबचनहरु थाप्न ।
तस्बिर : कुमाख (डिल्लीराज रावत)