प्रेम जोडीका लागि फेब्रुअरी विशेष महिना हो । यस महिनाको एक हप्तालाई ‘भ्यालेन्टाइन्स विक’का रूपमा मनाउने गरिन्छ ।आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे, प्रेम प्रस्ताव वा प्रेम साटासाट गरी यो दिवस मनाईदै छ । आजको दिनमा विश्वभरका प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट, उपहार आदानप्रदान गर्ने र औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन छ ।
विदेशबाट सुरुवात भएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष रुपले मनाउने गरिन्छ । विशेष गरी युवा युवतीले यसलाई चाडपर्वकै रुपमा मनाउने गरेका छन् । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
भ्यालेन्टाइन्स विकको सुरुवात ‘रोज डे’बाट सुरु हुन्छ । गुलाबलाई प्रेमको संकेतका रूपमा लिइन्छ । फरक–फरक रङका गुलाबको अर्थ पनि फरक–फरक छन् । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ भने पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । त्यसैले तपाईं कसैसँग प्रेम गर्नुहुन्छ भने रातो गुलाब दिन सक्नुहुन्छ ।
भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए ।सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे । उनलाई सन् २६९ को फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।