चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराईको नाम नेकपाबाट मन्त्रालयमा सिफारिस भएको छ । निकिता पौडेलले चलचित्र बिकास बोर्डबाट राजिनामा दिएसंगै बोर्डको अध्यक्ष पदका लागि धेरै फिल्मीकर्मीको नाम चर्चामा आएको थियो । यसबीचमा बोर्डको रित्त अध्यक्ष पदमा निर्माता संघका बरिष्ठ उपाध्यक्ष तथा फिल्म निर्माता केशव भट्टराई नाम सिफारिस भएको छ ।
नेकपाबाट उनको नाम मन्त्रालयमा सिफारिस गरिएको हो । नेकपा निकट चलचित्र क्षेत्रका सल्लाहकार संयोजक दिनेश डिसी र नेकपाको जनसाँस्कृतिक संघको तर्फबाट अध्यक्ष खगेन्द्र राईले संयुक्त रुपमा नेकपामा केशब भट्टराईलाई अध्यक्ष बनाउन सिफारिस गरेका हुन् ।
भट्टराई अध्यक्ष बन्ने लगभग पक्का भईसकेको श्रोतले बताएको छ । यसअघि सञ्चारमन्त्री गोकुल बास्कोटा उपस्थित हुने मन्त्रालयको बैठकमा निकिता जानकारी बिना अनुपस्थित भएपछि उनीसंग स्पष्टीकरण माग गर्न निर्देशन दिँदै मन्त्री बास्कोटाले आक्रोसित हुँदै कारवाही गर्ने चेतावनी दिएका थिए ।
यसैगरी निकितालाई राजिनामा दिन लगाउन मन्त्री बास्कोटाले निर्देशनसमेत दिएका थिए । स्पष्टिकरण माग गरेपछि अध्यक्ष पौडेलले प्रगति प्रतिवेदन सहित आफ्नो राजिनामा पनि पेश गरेकी थिईन् ।उनी देउवा सरकारको पालामा अध्यक्ष पदमा नियुक्त भएकी थिईन् । उनलाई ओली सरकारले बर्खास्त गर्ने समेत निर्णय गरेको थियो तर निकिताले पुर्नवहालीका लागि सर्बाेच्च गुहारेपछि उनी पुन काममा फर्किएकी थिईन् ।
आउँदो आईतवारबाट प्रक्रिया अर्थात नियुक्तीबाट केशब भट्टराई अध्यक्ष बन्ने निश्चित जस्तै भएको स्रोतले बताएको छ ।आईतवार नै केशब भट्टराईले अध्यक्ष पद सम्हाल्ने अनुमान गरिएको छ । अन्यथा सोमवार या मंगलवार पदभार ग्रहण गर्ने निश्चित जस्तै भएको छ ।