“अमेरिका से आए हुए हो क्या, हिन्दी बोलो न ।”उसले भनिदियो ।
त्यो सुन्नासाथ हल्का रिस नउठेको होईन, तर सम्झे आफ्नो छालाको रङ । फेरि सुरुमै उसले सोध्दा मैले बुझेर नै जवाफ फर्काएको थिए । कसरी उसले सोच्न सक्थ्यो र,”म भारतिय हैन भनेर ।”
……
निकालिएपछि त्यहाँ बस्नुको कुनै तुक पनि थिएन । अलि वर आएर उभियौं । सानो ड्वार्फ पर्खालनेर । र माथि रेलिङ जस्तो पनि थियो । निराश भए नि एकअर्कालाई हेर्यौं । हारेको हाँसो मुखमा ओइलिनुपर्ने, उल्टो मजैले फुलिरहेको थियो ।
बिस्तारै ट्रेन रोकिँयो । सर्याकसुरुक-सर्याकसुरुक झोला बोकी हामी ओरल्यौं । यसो मोबाइल हेरेको बिहानको ११ बज्न आँटेको रहेछ । घाम मजैले लाग्नुपर्ने, थिएन । आकाश धुम्म भए नि गर्मि भने कति सार्हो ! राती ट्रेनमा सुत्दा जाडो छेक्न लगाएको ज्याकेट बिहानको गर्मी सहन निकाल्नुपर्यो ।
फोहोर थियो आगराको स्टेसन । जसको सुइको अघि नै पाईसकेका थियौं । नओर्लदैं, ट्रेनमै हुदाँ । आगरा आईपुग्नै लाग्दा लिगको साइडमा केहि मिटर छोडी खुल्लामै पाईन्ट खोली लहरै शौच गर्दै थिए, केहि । त्यो पुरै परिसरमा फोहोरको डुङ्गुर मात्र देखियो । केहि आईमाईहरु गोवरलाई पिठोको रोटी जस्तै आकारको बनाएर घाममा सुकाईरहे । सायद खाना पकाउने ईन्धन हुनुपर्छ । आकर्षक केहि थिएन त्यहाँ । हेर्न भन्दा नहेर्नमा मजा आँउथ्यो ।
एकछिन हामी फिरन्ते यात्रीहरु ट्रेन स्टेसनको पल्याटफर्ममा उभिरह्यौं । पल्याटफर्म भरी भरियाहरु, यात्रीहरु, पसलेहरु, माग्नेहरु, माथि टिलिक-टिलिक टल्कने राता बत्तिहरु, नम्बरहरु, के-केहरु, के-केहरु । रेलका लिगहरु भने होचो ठाँउमा लमतन्न परी सुतेका । र रेलको ट्वाइलेटभित्र जे जे गरिन्छ, त्यो त्यही लिगमै झर्ने । त्यता धेरैबेर हेर्न कहाँ सकिन्थ्यो र ! तर नहेरे पनि गन्ध त सित्तैमा लिनै पर्थ्यो ।
“कृपयाँ यात्रु ध्यान दे, दिल्ली से आनेवाली १२५६७ नं ट्रेन पल्याटफर्म पर आचुकि हे ।”
यस्तै केहि एनाउन्स भईरह्यो, एक महिलाको स्वरबाट । सुने नसुनेको जस्तो गरी स्टेसन भवनबाट एक्जिट गेट हुदै बाहिर निक्ल्यौं । जहाँ हाम्रो गाडीले कुरिरहेको हुन्थ्यो । अटो, ट्याक्सी र बसहरु मजैले पाईन्थे स्टेसन बाहिर । बसको सिटमा ब्याग राखेपछि हामी कपडा चेन्ज तथा छुटेपुटेको बिहानको काम गर्ने ध्याउन्नमा थियौं । त्यहाँ हाम्रो रेस्टिङको लागि होटल थिएन । जम्मा एक दिन थियो घुम्नलाई । त्यसैले फ्रेस हुन-ड्रेस चेन्ज गर्न बाहिरको रेस्टरुम प्रयोग गर्नुपर्ने अनिवार्य भईदियो । केहि साथीहरु त्यतैतिर लागे र अलि पछि म पनि ।
“डिलक्स ट्वाइलेट”, यहि नाम थियो क्यारे बोर्डमा । कुनै फेन्सी पसलमा जस्तो ‘एल’ आकारको काउन्टरमा बसेर पैसा उठाइरहेका थिए, एक व्यक्ति । निकट पुगियो । त्यहि समयमा उनले सोधिहाले ।
“एक नं या दो”
भारतमा पिसाब गर्नुलाई एक नं र दिशालाई दुई भनिदो रहेछ । मलाई त दुवै गर्नु थिएन । बिहानको ११ बजेसम्म ट्रेनमै भएकाले, एक, दुई, तिन… सबै त्यहि भैदियो ।
“नो, नो… जस्ट चेन्ज ।” हतार-हतारमा हातमा रहेको टि-सर्ट देखाउदै भने ।
“अमेरिका से आए हुए हो क्या, हिन्दी बोलो न ।” उसले भनिदियो ।
त्यो सुन्नासाथ हल्का रिस नउठेको होईन, तर सम्झे आफ्नो छालाको रङ । फेरि सुरुमै उसले सोध्दा मैले बुझेर नै जवाफ फर्काएको थिए । कसरी उसले सोच्न सक्थ्यो र,”म भारतिय हैन भनेर ।” मेरो नि भित्री मनमा रिस उठ्नु स्वभाविक थियो । विदेशी नै त हु नि, म पनि । अङ्ग्रजी बोल्न के अमेरिकी नै हुनुपर्छ । छिमेकी राष्ट्रको नागरिक भएकाले हिन्दी, मुख बंगाई- बंगाई भए पनि बोल्न सक्थे । र बुझ्न पनि । तर नआउन पनि त सक्थ्यो । भलै बलिउडको फ्यान भएकाले नआउने कुरो भने थिएन । मनमनै सोचे, चित्त बुझाए । नक्कली मुस्कान छर्दै भित्र तिर लागे । बाहिर आँउदा काउन्टरमा दश रुपयाँ तिरेर निक्ले ।
भारतमा ५ सय र १ हजारको नोट ब्यान्ड भएको बेला परेको । बसको झ्यालबाट हेर्दा जुन पनि एटिएम बुथ देखियो, त्यहाँ मान्छेहरुको लाईन । सवै ठाँउ “वि डु नट एक्सेप्ट 500 & 1000 ” या “हम ५०० और १०००का नोट नहि लेतें ।” भनेर पर्स्टै लेखेर टाँसेका फोटोकपी पेपर । कहि भने “वि एस्सेप्ट भिजा कार्ड” भनेर लेखिएको । बैंक भने कुकर बिरालो छिर्ने साईजको सटर खोलेर बसेका । अस्तव्यस्त सहर । त्यो असर हामीमा पनि नपर्ने कुरै भएन । चिन्ताको रेखा सबैमा लम्बिएका थिए । शुल्क लाग्ने धरोहरहरुमा निःशुल्क प्रवेशको व्यवस्था थियो । त्यो भने हाम्रो लागि निकै खुशिको कुरा । किनभने अघिल्लो दिन जयपुरमा हामीले निशूल्क रुपमा धेरै स्थानमा घुम्यौं ।
बसको स्टाफहरुले,”आज ताज महल निःशुल्क छ भनेर भनिदिए ।”खुशीको कुरो भैदियो । किनभने त्यहाँ भारतिय बाहेक अरु राष्ट्रको लागि शुल्क महंगो थियो । भारतियको लागि ४०, भारतबाहेक सार्क राष्ट्रवासीका लागि ५१० र अन्यको लागि १ हजार चानचुन । बस स्टाफको अनुसार हाम्रो ५१० भारु रुपयाँ बच्नेभो । त्यो निकै ठुलो रकम नै थियो हामी घुम्न हिडेकालाई ।
तर रहेनछ, पुरानै पैसा लिएर भए नि टिकट काट्नु पर्ने रे । गेटैमा पुगेपछि थाहा भो । रिस उठ्यो बस स्टाफसँग । तर एकछिनलाई मात्र । फेरि बसिहाल्यो ।
एक जना भारतिय नागरिकसँग मिलेर ४० रुपयाँको दरले २६ वटा टिकट काट्यौं । ४० रुपयाँको टिकट काट्न पनि भारतिय हुनुको कुनै परिचय पत्र ल्याउनु पर्थ्यो । एउटा कार्डले जति भए नि टिकट काट्न मिल्ने । पैसा बचाउने लोभले समातिने डर त सबैमा थियो नै । तैपनि समाते बढीमा के गर्ला ? छिर्न नदेला । बाहिर निकाल्देला । त्यो भन्दा अरु त केहि गर्छ र ! यस्तै मन बुझाउदै लाईनको पुछारतिर उभियौं । लाईन लामो थियो । जो जो अलि वर्णमा कालो कालो थिए, ती अलि बढी ढुक्क थिए । त्यसैले म र मधेसका साथी बरुण सवै भन्दा सुरुमै लाईनमा लाग्यौं । अलिकति बढी आत्मविश्वाससाथ । अर्को साईडमा भने महिलाहरुको लाईन । डर हामीलाई हाम्रा केटी साथीहरु प्रति थियो । उनिहरु थिए गोरा न गोरा । कुनै कुनै त नेपाल के बेलायतबाटै आएका जस्ता देखिने ।
सर्दै, सर्दै जाँदा हाम्रो पालो चेकजाँचसम्म आईपुगेछ । केहि नबोली टिकट देखाए । के सोच्यो कुन्नि । फ्याट्टै भनिहाल्यो ।
“कहाँ से हो ? आईडी दिखाओ ।”
एक्कासी करेन्ट हाने झै भयो । पुरै मुख सुक्यो । अघिसम्म बलियो भाको मन त कता लुक्यो कता । सम्हालिए । मुखबाट शव्द निस्के जस्तो भो ।
“गोरखपुर से हैं हम । आईडी तो नही है । लाना भुलगया ।”
लाईनबाट साईड लाग्ने हातले निर्देशन दिदै,
“ईधर आओ ।” भनेर मलाई मेरो ठाँउ देखाइदियो । अव के बोल्नु , के बक्नु । त्यही थिए, उभिएकै ठाँउमा । खुट्टाले ठिङ्ग भइरहे ।
त्यति नै वेला मेरो पछाडी रहेको साथी वरुणले अलि जोडले भने ।
“अरे यार गोरखपुर से हम । आईड नहि लाय हुय तो क्या, अन्दर जाना नही मिलेगा ।”
“गोरखपुर से हो या नेपाल से ? आईडी देखाओ ।” भनेर टिकट चेकरले नि कडै फर्कायो ।
हामीसँग आईडी हुने कुरै भएन । रिसाएको जस्तो गरि साईड लाग्नै पर्ने भो । लहरै ४-५ जना साथी । सबै अघिकै विधिबाट छानिए । मधेसको भएकाले अनुहार र बोली भारतको युपी प्रान्तेलीसँग मिल्नुको फाईदा उठाँउदै वरुण अझै भित्र छिर्नको लागि बोलिरह्यो । हठी स्वभावको कारण त्यहाँको गार्ड र पुलिससँगै नडराएर अन्तिम सम्म प्रयास गर्यो नै । तर गार्हो थियो, सफल हुन । हामीलाई त्यहाँ पहिचान गर्नुको कारण ड्रेसअप र लगातार उस्तै मान्छेको लाईन नै थियो । यो कुरा पछि ठम्म्यायौं ।
निकालिएपछि त्यहाँ बस्नुको कुनै तुक पनि थिएन । अलि वर आएर उभियौं । सानो ड्वार्फ पर्खालनेर । र माथि रेलिङ जस्तो पनि थियो । निराश भए नि एकअर्कालाई हेर्यौं । हारेको हाँसो मुखमा ओइलिनुपर्ने, उल्टो मजैले फुलिरहेको थियो । उभिने साहारा त्यही पर्खाल र रेलिङ भैदिए । छ सात जना जम्मा भईसकेका थियौं । जो सुरुमै लहरै लाईनमा थियौं । अब बाँकी सत्र-अठार जनाको परिक्षाको घडी । तिनिहरु छ्यासम्यासिलो पाराले छरिएर लाईनमा उभिएका थिए । हामी भने उनिहरु पास-फेल के हुन्छन त्यही हेरिरह्यौं । कति ढुकढुक भयो होला उनिहरुको मन । हाम्रो भने निराशा हटिसक्यो । अच्चम त के थियो ठ्याक्क हाम्रै ग्रुपलाई चिन्दै निकालिरहेको थियो । सवै फालिए, बाहेक दुई जना । चाहना र कोमल दुवै केटीहरु छिरिसकेछन । केहि सोधेनछ उनिहरुलाई । मजैले अभिनय गरेछन क्यारे । सक्कली भारतियले नक्कली भारतियलाई चिन्न सकेनछ क्यारे । उनिहरुको ४० रुपयाँमा छिरेको धेरैलाई सायद चुकचकाई पनि लागेको हुनुपर्छ । लास्टमा एक्लै लाईनमा थिईन साथी शृखंला । अझ अघिल्लो दिन जयपुरमा उनिसँग केहि भारतियहरु कुईरिनी सोचेर फोटो खिचाँउदै थिए । अनि टिकटचेकरले भारतिय भनेर के पत्याँउथ्यो र ! मनमनै सोचेको थिए-यो मान्छे निकालिन्छे । र त्यस्तै भयो पनि ।
सुन्नमा आयो, वरुण अर्को गेटबाट छिरेछ । तर छिर्दा उसलाई बस्ने ठाँउको अलावा यूपिको मुख्यमन्त्रीको नाम पनि सोधिएछ । एकछिन सोचेपछि, उसको जवाफ थियो रे “अखिलेश यादव” । अखिलेश यादवको कुरा त्यहि बिहान हाम्रो छलफलमा परेको थियो । काम लागेछ केटोलाई । अब झन मन बेचैन भयो । उ छिरेकै गेटतिर लम्किए । म भन्दा अगाडी केहि साथीहरु नयाँ गेटमा ग्रुपमै छिर्न खोजेछन । त्यहाँबाट पनि निकालिएछन, विचरा ! र ठ्याक्कै गेटमा पुग्दा साथी गोविन्दले पनि असफल प्रयास गरेको देखे । अब यो गेटमा मैले नि प्रयास त गर्नु थियो । भारतियहरुकै विचमा जाने सोचले गए । तर म भन्दा अगाडी थिए कोरियन लुक्सका गोराहरु । पछाडी भने भारतियहरु । लाईनमा उभिए । मन भने उभिएको थिएन । जति टिकट चेकरको नजिक पुग्दै थिए डर त्यति नै मुस्कुराँयो । तिन जना कोरियनको टिकट चेक गर्यो चेकरले । सबैभन्दा महंगो नै थियो होला, त्यो टिकट । खुरु खुरु जान दियो उनिहरुलाई । पालो आयो । चालिस रुपयाँवाला भारतिय टिकट देखाए । टिकट चिर्रर्र च्यात्यो । मुखतिर हेर्न पनि हेरेन् । सिधै भित्रतिर जाने निर्देशन । अहिले झन मन ठाँउमा थिएन । खुशि र डरले रेस खेल्न थाले । खुशीको एजेन्डा थियो, छिर्न पाईहाले । डरको कारण अगाडी अर्को एउटा सेक्युरिटी गेट थियो । जहाँबाट भित्र छिर्नु पर्थ्यो । साईडमा पुलिस उभिएको थियो । त्यहाँ पुग्न पनि करिब आदा मिनेट लाग्यो होला । त्यो आदा मिनेटको रेशमा डरले जित्दै थियो । कतै त्यहि चेकरले “ ए भाई ईधर आओ ।“ भनेर कतै पछाडीबाट नबोलाईहालोस । अन्ततः त्यो आदा मिनेटपछि खुशीकै जित्यो । पछि सोचेको किन मलाई सिधै जान दियो ? याद गरे , मेरो भन्दा अगाडी गोरा न गोरा कोरियनहरु । र उनिहरुपछि अकस्मात म । रंगको फरकले टिकट चेकर झुक्किहाल्यो । मेरो भाग्य खुलिहाल्यो ।
बाफ्रे ! कति मान्छेहरु । यता उता सवै ठाँउ मानिसहरुको भिडभाड मात्र । भक्खर पार गरेको गेटले पुरै त्यो परिसर घेरेको । ताज महल देख्न अर्को भित्री परिसरको बडेमानको गेटबाट छिर्नुपर्ने । अनि मात्र अलि पर अजंगको सुन्दर ताज महल देखिदो रहेछ । त्यहाँ झन मान्छे बढी । त्यहाँ भएका पर्खाल र भवनहरु मुगल शैलीमा बनेका थिए । ताज महल देख्दा उत्पातै खुशी हुनपर्ने तर किनकिन भइएन । फोटोमा देखे जस्तै भएको कारण । सोचे जस्तै भएकोले ।
ताज महलको प्राङगणमा पुग्न अव केवल एउटा पानीको फाउन्टेन जति लामो दुरी थियो । र पुगियो पनि ।
नजिक पुग्दा भने रमाईलो लाग्ने रहेछ । निकै ठुलो स्केलमा बनेको भवन । वाह ! अनि मुगल शैलीका बुट्टाहरु । कसरी बन्यो होला यो, सोच्दै मन सिरिङ्ग हुने । तर भित्ताको टल्किने रंगमा अलि खुइलोपना बढेछ । उता क्षितिजतिर हेर्दा अस्ताउन लागेको सुर्यको रंगले जादु छर्दै थियो । पश्चिमतिरका स्मारकहरुमा सुर्यको लालीले मनमोहक दृश्यहरु छायंकित भईरहे । यता ताज महलको एक साइडको भित्ता र मिनारमा स्क्याफोल्डीङ गरिएको थियो । पछिसम्म जोगाउनलाई गरिने एक ईन्जिनियरिङ बिधि-“स्क्याफोल्डीङ” । जुन अहिले हामी हाम्रा नेपालका दरवार स्क्वायरहरुमा देख्न सक्छौं । फलाम या काठले क्रिसक्रस गरि जोडिएको अस्थाई संरचना ।
ताज महलको पछाडि पट्टी बुढी यमुना नदी सुस्ताउदै बग्दै थिईन । वाल्ट डिज्नीबाट निर्मित एनिमी मुभी ‘प्लेन’ मा एउटा दृश्य छ, जसमा प्लेनहरु रेस खेल्दै भारत आईपुग्छन । दृश्यमा त्यतिवेला ताज महलको पेरिवेश देखाँउछ । जसमा दुई प्रेमी प्लेनहरु ताज महल माथी उडिरहेका । तल सुन्दर ताज महल, कञ्चन यमुना नदि, त्यसमा तैरिरहेका डुङ्गाहरु र उडिरहेका चराहरु । केटाकेटीलाई खुब मनपर्ने एनिमेटेड दृश्य । त्यसैमा अंग्रेजी फिल्म भएर पनि ब्याकगराउन्डमा हिन्दी गित बजिदिन्छ-
“दम्दारा दम्दारा मस्त मस्त दम्..
दम्दारा दम्दारा मस्त मस्त,
ओ हमदम ! बिन तेरे क्या जिना …”
तर वास्तविकताको दुरी, नदिको केशमा जमिन र आकाशको थियो ।
बिचरी हाम्री बाग्मती जस्तै । दुर्गन्धित । वर्षौं पहिले बाटो हराएका डुंङ्गाहरु । नमजा लागेर आयो । थोरै घिन । थोरै सहानुभुति । सायद प्लेन मुभि हेरेर ताज महल आईपुगेका पर्यटकहरु सबैको मन खुम्चिएकै हुनुपर्छ ।
केहि छिन लाईनमा लागि ताज महल भित्र छिर्यौं । अध्यारोतिर । तैपनि समाधी स्थललाई काठको बारले घेरिएको मजैले देखियो । फोटो खिच्न प्रतिबन्ध रहेछ । माथि हेर्दा खाली डोम मात्र । त्यस्तो कुनै डिटेलिङ नभएको । वरिपरि केहि कोठाहरु । धेरै त अरु के थियो र । पछि बाहिर आएर ताज महल र आँफु देखिने ठाँउमा गएर फोटो खिच्यौं । तर त्यस्तो ठाँऊमा भिड भने कत्रो । पालो कुर्दै फोटोहरु खिच्नुपर्ने ।
बाहिर आँउदा थाहा भो । केहि साथीहरु नेपाली नागरिकताले सार्क देशको शुल्क तिरेर भए पनि छिरेछन । नागरिकता नभएको कारण केहिलाई टिकट नै दिन मानेनछ । दुख लागेर आयो । उनिहरु झन निराश थिए । भारत आएर, त्यसमै पनि आगरा आई गेटैमा पुगेर छिर्न नपाउनु ठूलो नमजाको विषय ।
मस्जिद-मन्दिर जस्तो धार्मिक स्थल देखिए पनि आखिर ताज महल एउटा समाधी स्थल मात्र थियो । जसलाई रानी मुमताजको सम्झनामा शाहजहाँले बनाउन लगाएका थिए । तर एउटा मृत्युको त्यति शानदार बिदाई सायदै कसैले सोचेको हुनपर्छ । समाधीको लागि त्यो युगमा यस्तो भवितव्य महल बनाउनु साँच्चिकै आश्चार्यको कुरा । त्यसले राजामा रानीप्रति भएको बेशुमार मुहब्बतलाई उजागर गरिदियो । तर पनि ईतिहासकारअनुसार मुमताज राजाकी तेस्रो रानी । रानीको मृत्यु भने चौधौं सन्तानको जन्म दिने क्रममा भएको । जसले त्यतिवेलाको प्रेम पनि शारिरिक आकर्षण र देह सुखमा मात्र जोडिएको भान हुन्छ । त्यसकारण ताज महल प्रेमको प्रतिक हुदाँहुदै पनि केहिले आलोचना पनि गर्ने गर्छन ।
तर कारण जे होस, ताज महल बन्नु ईतिहासको एउटा युगान्तकारी घटना भैदियो । कहिल्यै नदेखिएको मेघा स्टक्चर बन्दै थियो ताज महल । युगसम्म पनि मुखबाट निस्कने वाला थियो “अरे वाह ! ताज महल ।“ र अझै पनि संसारको आश्चार्यहरुमा पर्नु कम्ताको उपलब्धी होइन । विकिपिडिया हेर्दा थाहा भो, “उस्ताद अहमद लाहुरी” ताज महलका आर्किटेक्ट (डिजाईनर) रहेछन । त्यसै पनि सम्मान जागेर आयो । अझ एउटा आर्किटेक्चरको विद्यार्थीको नाताले मनमा झन बिशेष भावहरु लहर झै उठे । धर्तिको अनुपम उपहारको प्रत्यक्ष दर्शन गर्न पाउनु , सुम्सुमयाउन पाँउनु कम्ताको अहोभाग्य होईन ।
र त्यसै ताज महललाई त कहाँ भनेका होलान र ! ‘गितान्जली’का लेखक रविन्द्रनाथ टैगोरले – “the tear-drop on the cheek of time”
-मोहनबाबु
(गजव गजव फोटोको लागि साथीहरु सुदिप, कृपा, गोविन्द लगायत सबैलाई धन्यवाद ।)
(समर्पणः सुजित,सम्झना,सुरेना,स्रमिस्था,पिंकी,आरजु,आशा,पुर्णिमा,निरज,मन्दिल,अनु,अस्मिता,उपसना,सुजन,
कविर,बिबेक,प्रनेश,रामदाई लगायत माथि नाम आएका सहयात्री साथिहरु र सम्पुर्ण ०६९ बि. आर्क ब्याच)
( सल्लेरी खबरका लेखक मोहन बाबु “लोकेन्द्र बुढा ” का अरु लेख हेर्नलाई उनको व्यक्तिगत वेबसाइट mohanbabu16.wordPress.comमा पनि हेर्न सकिन्छ | )