शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कालोमोसो दलेर गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत कंसाकारले मानव जीवनमा व्यवस्थापन शास्त्रले ठूलो भूमिका खेल्ने बताए।
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताएका छन्।
महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए ।
व्यवस्थापनशास्त्र मनुष्यसँग सम्बन्धित विधा हो र यो सामूहिक रूपमा कठिन/साहसिक कार्य गराउने कला हो। व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष र साझा मूल्यमान्यतामा वचनबद्ध गराउन सकेन भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहन्छ।
— SugatKansakar (@SugatKansakar) January 4, 2019
संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो ।
शुक्रबार बसेको लेखा समितिको बैठकमा भने यस विषयमा विभाजित मत देखिएको छ । वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको उपसमितिले ठहर गरेको छ ।