नयाँ पत्रिका दैनिकले विश्वका नेताहरुको सरल जीवनशैलीलाई समेटेर पहिलो पृष्ठमा छापेको छ । ‘यी नेताबाट पनि सिक्न सकिन्छ’ शीर्षकमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान, अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा, अमेरिकाकै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, क्रोएसियाका राष्ट्रपति कोलिन्डा ग्राभर, मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज, क्यानडाका प्राधनमन्त्री जस्टिन ट्रयुडो, न्यूजील्याण्डकी यातायात मन्त्री जुली एनी गेन्टर लगाएको सरल जीवनशैलीको बारेमा लेखिएको छ ।
नयाँ पत्रिकामा लेखिएअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार ९ सय ९९ डलर सामाजिक काममा खर्च गर्छन् । यसैगरी अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हाल समाज सेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा वेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् । बिरामीदेखि युद्धपीडितसम्मका लागि सहयोग लिएर पुग्छन् ।
यसअघि अस्पतालमा उपचाररत बालबालिकाहरुलाई क्रिसमसको उपहारको धोक्रो बोकेर हिँडेको ओबामाको तस्वीर निकै भाइरल भएको थियो ।
वाइडबडी प्रकरणबारे कान्तिपुर दैनिकमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको टिप्पणी छापिएको छ । त्यसमा लेखिएको छ- सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले प्रतिवेदन दिन के भ्याएको थियो सरकार हडबडायो । नेपाल वायु सेवा निगमका दुईवटा वाइडबडी विमान खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदन समितिमा छलफल हुँदा नहुँदै सरकारले हतास मनस्थितिवशः हतारमा जाँचबुझ आयोग गठन गर्यो । भ्रष्टाचार छानबिन तथा जाँचबुझ गर्ने काम सरकार वा जाँचबुझ आयोगको होइन । कार्कीले कान्तिपुरमा थप लेख्छन्- प्रधानमन्त्री केपी ओलीले नै संविधान बुझेको देखिएन ।
गोरखापत्र दैनिकले महिनावारी हुँदा आगोकै भरमा राभतर खुला आकाशमुनि रात बिताउने हुम्लाका महिलाहरुको पीडाबारे समाचार लेखेको छ । हुम्लाको सर्केगाड गाउँपालिका-३ को उनापानी गाउँका महिला महिनावासी भएको बेला खुला आकाशमुनि आगो बालेर रात काट्दै आएका छन् । पुसको चिसोमा पनि महिलाहरु यसरी बस्नुको कारण भने सामाजिक मान्यता छ ।