पुस तेस्रो साता सकिन लाग्दासम्म चिनी उद्योग सञ्चालनमा आउने कुनै भेउ नपाएपछि महोत्तरीका उखु किसान आफैँ उखु पेलेर सख्खर बनाउन थालेका छन् । खेतबारीमा खुट्टी उखु (दोस्रो पटकको उत्पादन लिइने उखुबाली) सुक्न लागेपछि बाध्य भएर कोल (उखु पेल्ने घरैया मशिन, तुर्पिन) खोजेर उखु पेल्न थालिएको किसान बताउँछन् ।
खुट्टी उखु काटेर खाली भएको खेतमा पुस २२ भित्र गहुँ, वैशाखी लहरे तरकारी र घाँसेबाली लगाइसक्नु पर्ने भए पनि उद्योग चल्ने आसमा पर्खदापर्खदै ढिलो हुँदा अब हिउँदे बाली लगाउने समय घर्किने किसान बताउँछन् ।
जिल्लामा यसपालि चार हजार हेक्टरमा मुडन (पहिलो वर्षको उखुबाली) र करीब पाँच हजार हेक्टरमा खुट्टी रहेको उखु उत्पादक किसानका प्रतिनिधिमूलक संस्था उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घले जनाएका छन् ।
यता किसानको गुनासोसँगै उद्योग सञ्चालकले पनि आफ्नो पीडा सुनाउने गरेका छन् । करोडौँ लगानी गरेर सञ्चालन गरिएका उद्योगबाट उत्पादित चिनी गोदाममा थन्किदा आफूहरुको विचल्ली भएको एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालकले बताए । सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोकेमात्र उद्योग र किसान दुवै उक्सिने चिनी उद्योग सञ्चालक बताउँछन् ।