त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा इतिहास विषय अध्ययन गर्न चाहने विद्यार्थी नै पाउन छाडेको छ । २०७० सालमा सात जना विद्यार्थी भर्ना भएकोमा २०७१ सालमा छ जना, २०७२ सालमा दुई जना, २०७३ सालमा एक जना र गत २०७४ सालमा शून्य विद्यार्थी रहे । यस वर्ष नयाँ भर्ना खुला भएकोछ, तर विद्यार्थी नआउलान् कि भन्ने चिन्ताले त्रिवि इतिहास केन्द्रीय विभागका प्राध्यापकहरूलाई सताउन थालेको छ ।
मानविकी संकायमा इतिहासबाहेक संस्कृति, हिन्दी, भाषाशास्त्र, बौद्धदर्शन लगायतका विषयमा पनि विद्यार्थी सङ्ख्या खासै छैन । अर्थशास्त्र, अङ्ग्रेजी, ग्रामीण विकास, समाजशास्त्र आदि विषयमा विद्यार्थी सङ्ख्यामा समस्या छैन । त्रिविमा २२ केन्द्रीय विभाग छन् र सो अन्तर्गत ४० विषयमा पठनपाठन हुँदै आएको छ ।
दिउँसो पठनपाठन गर्दा विद्यार्थी फेला नपरेको निष्कर्ष निकाल्दै सो इतिहास केन्द्रीय विभागले यसपटकबाट विहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ भने विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिसमेत उपलब्ध गराउने आकर्षण विद्यार्थीलाई दिएको छ ।
इतिहास केन्द्रीय विभागका पूर्व प्रमुख प्रा.डा. तीर्थप्रसाद मिश्रले केही विषयहरू रोजगारमूखी बन्न नसक्दा विद्यार्थी घटेको चर्चा गर्दै त्रिविले यस मामिलामा नयाँ नीति अवलम्बन गर्नुपर्ने देखिएको बताउनुभयो ।