कैलालीको टीकापुरमा आठजनाको ज्यान जाने गरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा कारागारमा रहेका रेशम चौधरीले बिहीबार सांसदको सपथ ग्रहण गरेका छन ।
सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरी सिंहदरबारस्थित कृषि समितिको हलमा पुगेर सपथ खाएका हुन ।
२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन सुरु गरेका थिए । अनसनमा अस्वस्थ भएपछि २०७४ फागुन २३ गते काठमाडौँ ल्याइएको थियो । काठमाडौँमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन सुरु गरेका थिए । राजपा नेपालको दबाब पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।
चौधरीले अनसन तोडेपछि शपथग्रहणमा ढिलाइ भइरहेको थियो । ढिलाइका भएको भन्दै राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई दबाब दिँदै आएको थियो । सोही दबाबका कारण प्रधानमन्त्री ओली उनलाई सपथ खुवाउन तयार भएको बताइएको छ ।
सभामुख महराले चौधरीमाथि लागेका मुद्दासँग सपथको कुनै सरोकार नभएकोले सपथ खान मिल्ने भन्दै आएका थिए । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट भारी मतले प्रत्यक्षमा निर्वाचित चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चुनाव जितिसकेपछी चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।