कान्तिपुरले ‘कर्णालीमा अब एकीकृत बस्ती’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार त्यहाँको सरकारले छरपस्ट रहेका बस्तीलाई एकीकृत बनाउन कार्यविधि बनाएको छ । कार्यविधिमा आवास निर्माण निजी क्षेत्रलाई दिनेदेखि १५ वर्षसम्म आवासको हक हस्तान्तरण गर्न नपाइनेसम्मको व्यवस्था राखिएको समाचारमा उल्लेख छ ।
वाइडबडी खरिदबारे संसदीय समितिले निकालेको निष्कर्षलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार, समितिले झण्डै ४ अर्ब हिनामिना गरेको ठहर गरेको छ ।
सरकारी अड्डाको निरन्तर स्थलगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले आज गुणस्तर विभागबारे एक सामग्री छापेको छ । समाचार अनुसार विभागमा खुलमखुला घुस कारोबार हुने गरेको छ ।
गोरखापत्र दैनिकको पहिलो पृष्ठ औपचारिक समाचारहरुले भरिएका छन् । ‘प्रकृति सिँगारेर मात्र विकास’ भनेर राष्ट्रपतिले व्यक्त गरेको भनाइलाई उसले प्रमुख समाचार बनाएको छ ।
नयाँ पत्रिका दैनिकका अनुसार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन् । उनका एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए । जोशीले गरेका केही आदेशमा विवादमा समेत परेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । नयाँ पत्रिकाले व्यवसायी अजयराज सुमार्गीको खाता नरोक्न गरेको आदेश र सीजीलाई लाइसेन्स दिन अनुमति दिएकोलाई नयाँ पत्रिकाले जोशीको विवादास्पद फैसलाका रुपमा प्रस्तुत गरेको छ । त्यस्तै यातायात इजलास खारेज नगर्न दिएको आदेशलाई पनि नयाँ पत्रिकाले विवादास्पद मानेको छ ।
नयाँ वर्ष मनाउन हजारौं उपत्यकाबाहिर गएको, त्रिविमा गोल्डमेडल पाउनेमा छात्रा धेरै भएकोलगायत शीर्षकका खबर नयाँ पत्रिकाको पहिलो पृष्ठमा छन् ।
नागरिकले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे २ अर्बको भ्यू टावर बन्न लागेको लेखेको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यू टावर निर्माण गर्न लागिएको हो ।
सहरी विकास मन्त्रालयले दमक नगरपालिका ६, ढिकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यू टावर निर्माण गर्न डीपीआर तयार पारेको समाचारमा उल्लेख छ ।
त्यस्तै वाइडबडी खरिद र न्यायलयका बेथितिबारे पनि नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।