१५ पौष, सल्यान- नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा सल्यान क्षेत्रनं १ का प्रदेश सभा सदस्य गुलाबजंग शाहले आफ्नो कार्यकाल भित्र सल्यान क्षेत्र नं १ लाई समृद्ध बनाउने बताएका छन । जनताले आफुलाई आफ्नो क्षेत्रको बिकासका लागि भारी मतले प्रदेश सभा सदस्यमा निर्वाचित गरेको भन्दै उनले यस क्षेत्रको बिकास नै जनतालाई उपहार हुने बताए । शुक्रबार बागचौर नगरपालिका वडा नं.९ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता कार्यक्रमको उद्वघाटन गर्द्वै सल्यानी जनताको चाहना, भावना र आवश्यकता अनुसार आफुले गर्ने बिकासका कार्यहरुमा कुनै कसर बाँकि नराख्ने बताएका छन ।
राजनीति भनेको जनताको मनोभावनालाई बुझेर आवश्यकताहरु परिपुर्ति गर्ने पेशा भएकाले,जनताका बास्तबिक आवाजहरुलाई बुझेर सरकारसम्म बुलन्द गर्ने कार्यमा आफु कटिबद्ध रहेको बताए । प्रदेश सदस्य शाहले अहिलेको बामपंथी सरकार देशको दीर्घकालीन बिकासमा लागेकाले त्यसमा आफुहरुको पनि हात रहने बताएका छन । एकैपटक सबै बिकास निर्माणका कार्यहरु सम्पन गर्छु भनेर जनता सामु भ्रम छर्नु भन्दा पनि आफु काम गरेर देखाउने पक्षमा रहेको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथी बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले कुनै पनि राजनीतिक शक्तिलाई सिध्याउन पार्टी भित्र नेता कार्यकर्ताको गुट र उप-गुट रहेको बताए । बागचौर नगरपालिकाका कुनै कुनै वडाहरुमा राजनीतिक गुट, उप-गुटको खेल ब्याप्त रहेको बताउदै, केहि नेताको क्षणिक स्वार्थले पार्टीको अस्तित्व समेत धरापमा पर्ने भएकाले यसमा सबै सजक रहन अनुरोध गरे ।
नगरप्रमुख तथा नेकपाका नेता लोकमान बुढाथोकीले सरकारका सामाजिक कार्यहरुमा समेत राजनीतिक गुट उपगुटमा विभाजन गर्ने प्रचलन रहेकाले यसले समाजमा राम्रो प्रभाव नपार्ने बताए । आफु एउटा स्थानीय तहको प्रमुख भएको नाताले बागचौर नगरपालिका भित्र हुने हरेक गतिविधिको निगरानी गर्ने अधिकार सबै पार्टिका नेता, कार्यकर्ता देखी जनतासम्म रहने भएकाले,यसमा खबरदारी गर्न समेत सबैलाई अनुरोध गरे । उनले पाँच बर्ष भित्रमा समृद्ध नगर बनाउन लागेको र यस अबधिमा आफुले कुनै पनि योजनाहरुमा आर्थिक अनियमितता गरे जनताले जस्तोसुकै कारबाही गरे पनि स्विकार गर्ने बताए ।
नगर प्रमुख बुढाथोकीले महिला तथा नगर भित्रका आमा समुहहरुको क्षमता बिकासका लागी केहि बजेट बिनियोजन गरिएको र अझै गरिने भएकाले सृजनात्मक कार्यमा जुट्न सम्पुर्ण महिला दिदिबहिनीहरुमा अनुरोध गरे । कार्यक्रमका अर्को अतिथि नेकपाका कर्णाली प्रदेश सदस्य कृर्ती बहादुर पुन (प्रकाण्ड)ले खेल क्षेत्र राष्ट्रको साझा सम्पत्ति भएकाले खेल क्षेत्रको बिकास गर्न सबै लाग्नु पर्ने बताए । उनले खेल क्षेत्रको संस्थागत बिकासका लागी सबै एक हुन आवश्यक रहेको बताए ।
श्री शिशु जागरण माध्यमिक बिद्यालयमा भएको उक्त कार्यक्रममा बागचौर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष घनश्याम शर्मा, ८ का रोमु शाही लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।
बागचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रम पौष १५ गते सम्पन्न भएको छ । कार्यक्रममा, विभिन्न विधाका विजेताहरुलाई पुरुस्कार वितरण गरिएको छ ।