कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा सरकार र प्रहरी संगठनले अपराधी सार्वजनिक गर्न नसक्दा ठुलो आलोचना खेपिरहेको छ । कतिसम्म भने अपराधीलाई सरकारले नै संरक्षण दिएकोसमेत आरोप लाग्दै आएको छ । यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला पन्तको घटनामा सरकार चुकेको स्वीकार गरेका छन् ।
आजबाट शुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले निर्मलाको घटनामा सरकार कही न कही चुकेको स्वीकार गरेका हुन् । उनले भने “निर्मला पन्त प्रकरणले हामीलाई चिन्ता बढायो । यसमा सरकारको कार्यक्षमातामा प्रश्न उठेकै हो । कहि न कहि सरकारको लुप्स भयो । पार्टीमा पनि यसबारे छलफल हुन्थ्यो” ।
“अव यसको अनुसन्धान निष्कर्षमा पुर्याउने जिम्मेवारी सत्ता र प्रतिपक्षको साझा दायित्व बनेको छ । अपराधिलाई कारवाही गर्नु सवैको दायित्व हो” । देशमा पछिल्लो समय बढेको असुरक्षाको घटनाले आफुलाई पनि चिन्तत बनाएको बताउँदै प्रचण्डले धेरै घटनाक्रममा सरकारले अपराधीलाई सजायँ दिएको कुरालाई पनि नबिर्सन प्रचण्डले आग्रह गरे ।