विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् । क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउन थालिएको छ ।
क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न सहयोग गर्ने जनस्तरमा विश्वास गरिएको छ ।
पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने नयाँ सडकस्थित आर्चिच गिफ्टसपका गणेश रेग्मी बताउछन्। उनी भन्छन् ,‘पर्वका लागि विभिन्न उपहार खरिद गनुको साथै सान्ताको लुगा बढी विक्री हुन्छ ।’
बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा ’क्रिसमस इभ’ भन्दै सबै धर्मालम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकषर्णका बारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का भन्छन्, ‘केही युवाले फेसनका रूपमा यो पर्व मनाएको देखिए पनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि क्रिसमसमा आकर्षण बढेको छ ।’
गायिका सिने गुरुङ विद्यालय पढ्दैदेखि क्रिसमस मनाउँदै आएका छन्। उनले यो विश्वव्यापी रुपमा मनाउने अन्तराष्ट्रिय पर्व बताउँदै होटलमै गएर क्रिसमसको स्वागत गर्ने जानकारी दिए । त्यो अवसरमा ‘क्रिसमस कोरल’ गाउँदै क्रिसमस रमाइलो गरी मनाउने विचारमा उनी छन्।
कपनका आशिष पौडेलको क्रिसमसमा योजना भव्य छ । उनी क्रिसमस र नयाँ वर्ष मनाउन गोवा जाने तयारीमा हुनुहुन्छ । आफू गैरक्रिस्चियन भए पनि पुनेमा पढ्दादेखि साथीहरूसँग क्रिसमस मनाउने बानी परेको उनी बताउछन्।
क्रिसमस धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस पर्व विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।
मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको किम्वदन्ती छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा ईस्वी सम्वत् चलाइएको विश्वास गरिन्छ ।
सबैको प्रिय सान्टा
क्रिसमस इभमा सान्टाले ज्ञानी बच्चाहरुलाई सुतिरहेको समयमा कुनै सरसमामन ‘गिफ्ट’ छोड्ने विश्वास गरिन्छ । सान्टा को थिए त ? सय वर्षअघि भिक्षु सेन्ट निकहोलसको टर्कीमा जन्म भएको थियो । निकहोलसले विभिन्न ठाउँमा गरिवहरुलाई मद्दत गर्दै हिड्थे । निकहोलस युरोपमा सान्टाको रूपमा परिचित थिए । त्यसैले पनि यस दिन निकहोलसको सम्झनामा सान्टा बनेर मिठाइ दिने गरिन्छ ।
क्रिसमस वृक्ष
क्रिस्चियनहरुले क्रिसमसको दिनमा सल्लाको वृक्ष (क्रिसमस ट्रि) लाई सजाएमा बर्षभरि हरियो हुने विश्वार गरिन्छ । ‘क्रिसमस ट्रि’ सधैँ हरियो रुखमा विभिन्न किसिमका हिउँको थुप्लो जस्तो सेतो कपासले सजाइन्छ । क्रिसमस ट्रिमा रङ्गीचङ्गी वत्ती राखेर सजाउने गरिन्छ ।
क्रिसमस वृक्ष सजाउने परम्परा १६ आँै शताब्दीमा लिमोनिया र जर्मनीबाट आएको हो । केही इतिहासकारले क्रिसमसको समयमा सल्लाको रुखमा क्यान्डल, बत्तीहरूले सजाएमा त्यो चढी स्वर्गसम्म पुग्ने विश्वास रहेको छ ।