दुनियाँमा सायदै मानिसहरू होलान् जो आफ्नो जिन्दगीमा सफलता चाहँदैनन् । वर्तमान युगमा हरकोहि व्यक्ति आफ्ना सपना पुरा गर्न , जीवनमा धेरै भन्दा धेरै प्रगति गरेर सफलताको शिखर चुम्न हरदिन लागिपरेका छन् । अझै भनौ न मानिसहरू बिच एक प्रकारको रेस नै लागीरहेको छ ।
मान्छे मान्छे बिचमा को भन्दा को कम भन्ने प्रतिशप्रधात्मक भावना पलाएको छ । अज्ञानी देखि बुद्घिजीवी , भिखारी देखी अरबपति , साधारण मानिस देखि वैज्ञानिकसम्म सबैका आ–आफ्ना इच्छा र चाहना हुन्छन् र तिनै चाहनामाथि सफलता प्राप्त गर्ने अर्को सपना राखेका हुन्छन् । हरकोहिको इच्छा रहेको हुन्छ कि जीवनमा धेरै प्रगति र उन्नति गरेर आनन्दिमय जीवन जीउँने । सपना त सबैका हुन्छन् नै । फरक यत्ति हो कि , कसैका सपना साना हुन्छन् त कसैका ठुला , कसैका समकालीन हुन्छन् त कसैका दिर्घकालीन । सामान्यतयास् एउटा विद्यार्थीको सपना हुन्छ कि परिक्षमा राम्रो अङ्क ल्याएर पास हुने ,एउटा उद्योगपतिको सपना हुन्छ कि आफ्नो व्यापार व्यवसायलाई दिन दुई गुणा र रात चौगुणा गरेर बढाउने । त्यसै गरी एउटा सामान्य किसानको सपना हुन्छ कि राम्रोसँग खेतीपाती गरेर वर्षभरिलाई खान पुग्नेगरी अन्न उब्जाउने आदि । सपना र चाहना सबैका फरक–फरक हुन्छन् । इच्छा–आकाङ्क्षा सबैका फरक–फरक नै भएपनी ती चाहना पूरा हुँदा मिल्ने खुसी र अपुरै हुँदा मिल्ने पिडा भने सबैको एउटै त हो नि , होइन र ?
काममा सफल र असफल हुनु पछिको कुरा हो । ती सबैका लागी चाहिने मुख्य कुरा हो परिश्रम । परिश्रम नगरेर त संसारको कुनै पनि शक्तिले सफलता दिलाउन सक्दैन । भनिन्छ नि , भगवानले पनि तिनै हातलाई चुम्दछन् जो परिश्रम गरेर कहिल्यै थाक्दैनन् । सफलताको लागी कुनै छोटकरी बाटो भने हुँदैन । सफलताको जहिल्यै पनि एउटै मात्र सूत्र हुन्छ त्यो हो , परिश्रम । आखिर त्यहीँ कोइला हिरा बन्छ , जसले अधिक तापक्रम सहन सक्छ । परिश्रमले नै मानिसलाई असफलताको खाडलबाट सफलताको शिखरमा पुर्याउन सक्छ । फेरी सफलताको लागी सधैँ परिश्रम गरेर मात्रै हुँदैन । धैर्य पनि गर्न सक्नु पर्दछ । भनिन्छ नि , सङ्कटको समयमा धैर्य राख्न सक्नु भनेको आधा लडाई जित्नु सरह हो । कुनै काममा मिहिनेत मात्रै गर्यो त्यसमा धैर्यता कायम गर्न सकिएन भने त्यो परिश्रम गरेको केही अर्थ हुँदैन । धैर्यको अनुभव भलै तितो होला , तर धैर्यको फल सधैँ मिठो नै हुन्छ । त्यसैले परिश्रम नामको बिऊँ रोपी , धैर्य नामको गोडमेल गरे , सफलता नामको फल एक दिन अवश्य मिल्छ ।
जुन व्यक्ति कहिल्यै परिश्रम गर्दैन , त्यो त सधैँ असफल हुने नै भयो । तर कहिलेकाहीँ मिहिनेत गर्दागर्दै पनि मानिस आफ्नो काममा सफलता प्राप्तिबाट चुक्दछ । यी असफल हुनेहरूमा पनि दुई प्रकारका मानिसहरू हुन्छन् । एक, जो असफलतामा पनि नआत्तिकन धैर्य राख्दै असफलतालाई एक अर्को अवसरको रूपमा लिएर अझै मिहिनेतका साथ अगाडि बढ्छन् । एक न एक दिन आफूले रोजेको क्षेत्रमा सफल भएरै छाड्छन् । अनि अर्को हुन्छन् जो , असफलतालाई अवसर नभई अन्त्यको रूपमा लिन्छन् र आफ्ना सारा सपना र चाहनालाई अविश्वासको कोठाभित्र असफलताको ताल्चा लगाएर थुनिदिन्छन् । उनीहरूले आफ्नो असफलतालाई एक अको नौलो अवसरको साटो कडा चुनौतीको संज्ञा दिन्छन् । अनि त्यो चुनौतीको सामना गर्ने हिम्मत जुटाउँदैनन् ,जसकारण उनीहरूले सफलता प्राप्त गर्ने अवसर नै श्रृजना गर्न सक्दैनन् । धेरै जसो मानिसको बानी के रहेको हुन्छ भने , जब कुनै एउटा काममा असफल हुन्छन् तब उनीहरूले त्यसै कामलाई निरन्तरता दिनुको सट्टा कुनै अर्को काममा हात हाल्छन् । यदि त्यसमा पनि असफल भए फेरी त्यो काम छोडेर अर्कै काममा लाग्छन् र त्यसमा पनि हात लाग्यो शून्य भनेझैँ हुन्छ र सधैँभरि असफलताको झोला बोकेर हिँड्नुपर्ने हुन्छ । यसरी आफूले गरेको काममा असफल भएपछि फेरी त्यही काममा निरन्तर प्रयासरत रही धैर्य गर्न नसक्नु नै उसको असफलताको एक मुख्य कारण बन्न जान्छ ।
आखिर असफलतासँग किन डराउँछन् मानिसहरू ? धेरै मानिसहरू आफ्नो लक्ष्यमा सफल हुन नसक्दा उदासी जीवन बिताईरहेका हुन्छन् । असफलताका कारण आफ्नो प्राण नै त्याग्नेहरूका केही उदाहरणहरू पनि छन् हाम्रो समाजमा । कोहिकोहि मानिसहरूले सयौँ बाच्ने कारणहरू हुँदाहुँदै पनि एउटै मर्ने कारण मात्रै देखिरहेका हुन्छन् । उनीहरूले किन बुझ्न सकिरहेका हुँदैनन् कि उदासी र मृत्यु समस्याको समाधान होइनन् भनेर । उनीहरूले यो बुझ्न जरुरी छ कि , जो मानिस अगाडि हिँड्ने कोसिस गर्छ त्यो मानिस नै लड्छ भनेर । मानिसको महानता नलड्नुमा होइन बरु पटक–पटक लडेर उठ्नुमा हुन्छ । कहिलेकाहीँ हामीले खाना खाँदा पनि पहिलो गाँसमा नै ढुङ्गा लाग्न जान्छ । अनि त्यसो हुँदा त हामीले पक्कै पनि अर्को पटक देखि खानै खान त छोड्दैनौँ । हो , हाम्रा असफलता पनि त्यस्तै हुन् । त्यसैले असफलतादेखि कदापि भाग्नु हुँदैन ।
तपाईँ यो कुरा कहिल्यै पनि नभुल्नुस् कि , एउटा साधारण ढुङ्गाले अमूल्य र आकर्षक मूर्ती बन्न मूर्तीकारको हजारौँ चोट सहेको हुन्छ । आज असफल भएँ भनेर निराश नबस्नुस् , न आत्तिनुस् । आफ्नो क्षेमता माथि विश्वास राखेर निरन्तर प्रयासमा लागीरहनुस् , एक दिन सफलता तपाईँको दास नबनी सुख नै छैन । त्यसैले असफलतालाई अन्त्यको रूपमा नलिई आफ्नो भावी सफलताको जग हुन् भन्ने ठानेर कडा मिहिनेतका साथ अगाडि बढ्नुपर्छ । यसो गर्न सकेमा एक दिन तिनै असफलताको सिढिँहरुले पक्कै पनि तपाइलाई सफलताको शिखरमा पुर्याउने नै छन् । मानिसहरूको जीवनमा आइपर्ने दुख र असफलता भनेको त हिमाल माथि थुप्रिएको हिउँ जस्तै हुन् , समय–समयमा आइरहन्छन् ,केही समय सामना गर्न सके हाम्रो जीवनलाई नै सुन्दर बनाएर आफै पग्लिदिन्छन् । त्यस कारण आफ्नो काममा धैर्यताका साथ निरन्तर प्रयासरत रहनु पर्छ ,एक दिन असफलतालाई गुलामी बनाई सफलताको सिंहासनमा बस्ने दिन पक्कै आउनेछ ।
–जीवन खड्का