मिस वर्ल्डको फाईनल राउण्डमा पुगेका प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधिने गरिन्छ । जुन प्रश्नको जवाफले प्रतिस्पर्धीलाई विजेता बन्न सहयोग गर्छ ।यो वर्षको मिस वर्ल्डको ताज लगाएकी मेक्सिकोकी सुन्दरी भेनिसा दे लियोनलाई कस्तो प्रश्न सोधिएको थियो ? जसले गर्दा यो वर्षको ताज हात लगाउनमा उनलाई सजिलो भयो ?
‘मिस वर्ल्ड बनेपछि अरुलाई तपाईंले कसरी सहयोग गर्नुहुन्छ ?’ भनेर सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै मेक्सिकोकी सुन्दरी भेनिसा दे लियोन ‘मिस वर्ल्ड २०१८’ को विजेता बनिन् । यसको जवाफ उनले यसरी दिएकी थिइन्, ‘म आफ्नो पदको सदुयोग त्यसरी नै गर्नेछु, जसरी गएको तीन वर्षदेखि गर्दै आएकी छु ।’
उनले भनेकी थिइन्, ‘हामीले सबैको ध्यान दिनुपर्छ । सबैलाई माया गर्नुपर्छ । कसैलाई सहयोग गर्नु कुनै गाह्रो काम होइन । तपाईं बाहिर गएको बेला कोही न कोही भेट्नुहुन्छ, जसलाई तपाईंको सहयोगको आवश्यकता परेको हुन्छ । त्यही भएर म सधैं अरुलाई सहयोग गर्नको लागि तयार रहनेछु ।’
भेनिसा विभिन्न हिंसा पीडित युवतीहरुको बारेमा वकालत गर्ने संस्थामा कार्यरत छिन् । उनले अन्तर्राष्ट्रिय व्यापारमा र मानवअधिकार विषयमा स्नातक गरेकी छिन् । उनी नेनेमी नामको एउटा विद्यालयमा पनि काम गरिरहेकी छिन्, जसले आदिवासी क्षेत्रका बालबालिकालाई अलग–अलग संस्कृतिको शिक्षा दिने गर्दछ ।