Logo

डिजिटल अभ्यासमै छैनन् स्थानीय तह



Spread the love

कोहलपुर नगरपालिकाबाहेकका बाँकेका सात स्थानीय तह अझै डिजिटल अभ्यासमा अग्रसर हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिकै उदासिनताले ‘डिजिटल नेपाल’ नारामा मात्रै सीमित भएको हो ।

कछुवा गतिमै भए पनि कोहलपुर नगरपालिका भने डिजिटल प्रविधिको अभ्यासमा जुटेको छ । मोबाइल एप्ससबाट आफ्नो तहको सूचना तथा गतिविधि आम नागरिकसम्म पु¥याउन उक्त नगरपालिका सक्रिय भए पनि नेपालगञ्ज उपमहानगरपालिकासहित अन्य सात स्थानीय तह भने यस बिषयमा अझै उदासिन छन् ।

सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेको छ । सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डमा मोबाइल एप्स तयार पारिए पनि धेरैले लागू गर्न सकेका छैनन् । सबै स्थानीय तहका वेबसाइटको सर्भर राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ ।

सूचना तथा प्रविधि विभागले इण्टरनेट नपुगेका तहले पनि इण्टरनेट भएको ठाउँमा सूचना पठाएर वेबसाइट तथा मोबाइल एप्स अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल एप्स नबनाएका स्थानीय तहले विभागमा पत्राचार गरी निःशुल्क बनाउन सक्ने भए पनि बाँकेका सात स्थानीय तहले अहिले पनि एप्स बनाउने विषयमा ध्यान दिनसकेका छैनन् ।

दुर्गममा इण्टरनेटको समस्या हुने भएका कारण मोबाइल एप्स सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । स्थानीय तहका एप्सहरुको महत्व स्थानीयस्तरमा भन्दा पनि बाहिर बसोबास गर्दै आएकमा सो क्षेत्रका बासिन्दालाई बढी हुन्छ । एप्समार्फत बाहिर रहेका स्थानीयले गाउँपालिकाको काम कारवाही र सेवासुविधाका बारेमा गुनासो तथा सुझाव पठाउँदै आएका छन् ।

गाउँमा बस्ने मानिसमा प्राविधक ज्ञानको कमी र स्रोत तथा साधन अभावका कारण गाउँका भन्दा अध्ययन र रोजगारीका लागि देशका अन्य स्थान र विदेशमा रहेकाले यस्तो प्रविधिको बढी प्रयोग गर्ने गरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी थारूले बताए।

स्थानीय तहका प्रविधि चुस्त छैन
जिल्लाका स्थानीय तह इण्टरनेट सञ्जालमा जोडिए पनि इण्टरनेट सेवा प्रभावकारी हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । इण्टरनेटकै समस्याका कारण बिहीबार खजुरा गाउँपालिकाको वडा नं ३ मा आएका अधिकांश सेवाग्राही फर्किन बाध्य भएका थिए ।
जन्म र विवाह दर्तालगायतका कामका लागि आएका सेवाग्राहीलाई इण्टरनेट समस्याका कारण फर्काउनुपरेको वडा नं ३ का वडासचिव थानेश्वर न्यौपानेले बताए। “अहिले गाउँमा पनि प्रविधि छन् तर इण्टरनेटको भरपर्दो गति नहुँदा सेवा प्रवाहमा कहिलेकाहीँ समस्या हुने गरेको छ”, उनले भने ।
गाउँपालिकामा एउटै आइटी अफिसर हुँदा तत्कालै प्रविधिलाई चलायमान गराउन नसकिएको गाउँपालिकाका कर्मचारीको भनाइ थियो । गाउँपालिका प्रविधिमैत्री भएपछि वेबसाइटमा सूचना राख्दा सर्वसाधारण र कर्मचारी दुवैलाई सजिलो भएको बैजनाथ गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमरसिंह ठाकुरले बताए।
“सूचना लिन कार्यालय आउनुपर्दैन”, उनले भने । , “धेरैलाई एउटै सूचना पटकपटक दिनु नपर्दा कर्मचारीलाई पनि सजिलो भएको छ ।” निर्णय वेबसाइटमा हेर्न मिलेपछि सेवाग्राही पनि निकै खुशी छन् ।सूचना लिने÷दिने दुवैलाई सजिलो भएको छ ।

जिल्लाका आठ वटै स्थानीय तहमा सूचना प्रविधि अधिकृत छन् । इण्टरनेटबाटै सूचना लिने बढेपछि स्थानीय तहले छुट्टै शाखा र जनशक्ति राखेर काम थालेका हुन् । वेबसाइटमा स्थानीय तहका कार्यक्रम, कार्यपालिकाको निर्णय, योजना, नीति नियम, बजेट तथा कार्यक्रमका जानकारी राखिएका छन् ।
सूचना प्रवाहले कार्यालयमा सुशासन कायम गर्न मद्दत पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताए। “सहजै सूचना पाउँदा नागरिकको निगरानी बढ्छ, ‘यसले काम प्रभावकारी बनाउँछ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्