दिनहुँजसो सवारी जाम हुने कोटेश्वरमा अब सुरुङमार्ग निर्माण हुने भएको छ । बढ्दै गएको सवारीसाधनको चापसँगै कोटेश्वरमा हुने ट्राफिक समस्यालाई न्यून गर्न त्यस क्षेत्रमा सुरुङमार्ग निर्माण गरिने प्रक्रिया अगाडि बढिसकेको सडक विभागले जनाएको छ ।
अरनिको राजमार्गको प्रस्थान विन्दुको रुपमा रहेको कोटेश्वरमा दिनहुँजसो सवारी जाम हुन थालेपछि यस क्षेत्रमा सुरुङमार्ग निर्माणको अवधारणा ल्याइएको सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए।
सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताउँदै उहाँले कलङ्कीमा निर्माण गरिएको मोडेलमा कोटेश्वर चोकमा पनि सुरुङमार्ग निर्माण गरिने बताए।
प्रस्तावित उक्त सुरुङमार्ग निर्माण गर्नका लागि जापान सरकार सहमत भइसकेको जानकारी दिंदै उहाँले जापान सरकारकै सम्पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सुरुङमार्ग निर्माण गरिने बताए। उनका अनुसार उक्त सुरुङमार्ग निर्माणको अध्ययन गर्न अबको एक महिनापछि नेपाल र जापान सरकारबीच सम्झौता हुनेछ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भर्खरै सम्पन्न जापान भ्रमणको क्रममा कोटेश्वर क्षेत्रको सवारी जामलाई हटाउन सो क्षेत्रमा सुरुङमार्ग, सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक निर्माणका लागि जापानसँग भएको अनौपचारिक सहमतिका अनुसार नै सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाइएको सडक विभागले जनाएको छ ।