Logo

ठूलो परिणाममा चरेस नष्ट



Spread the love

१४ मङ्सिर, बझाङ – जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५ किलो चरेस बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा आज उक्त चरेस नष्ट गरिएको हो । सो समयमा प्रहरी गस्तीबाट पक्राउ परेका अभियुक्त मनसेज्या पुजारा, मोहनचन्द र रणबहादुर भन्ने रनी चन्दलाई तत्कालीन जिल्ला न्यायाधीशबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क)को कसुरमा सोही ऐनको दफा १४ (१) क) बमोजिम सजायका लागि माग दाबी रहेको थियो । उनीहरुका साथबाट पाँच किलो ५०० ग्राम चरेस फेला परेको थियो । मोहन चन्द तत्कालीन समयमा फरार रहेका थिए । पछि निजलाई २०४९ सालको असोजमा प्रहरीले पक्राउ गरेर मुद्दा अगाडि बढाएको थियो ।

सोही समयमा प्रहरीले अर्को समूहको आइते धामी, सर्पे धामी, सौउरे जाग्री र नरबहादुर बोहरा समेतको गरी ३९ किलो ५०० ग्राम चरेस बरामद गरेको थियो । तत्कालीन समयमा आइते धामी पक्राउ परेका थिए भने अन्य अभियुक्त फरार थिए । पछि विभिन्न समयमा निजहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको थियो । निज अभियुक्तलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (क)को कसुरमा सोही ऐनको दफा १४ (१) क) बमोजिम सजायका लागि मागदाबी रहेको थियो ।

गत भदौ २७ गते मुल्तबीबाट जगाई सो मुद्दाको असोज १० गते प्रतिवादीले सफाइ पाउने फैसला भयो । अभियुक्तले लामो समयपछि सफाइ पाएकाले सोही फैसलाबमोजिम बरामद गरिएको लागुऔषध नष्ट गरिएको जिल्ला अदालत बझाङका स्रेस्तेदार माधवप्रसाद लोहनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्