नारायणहिटी सङ्ग्रहालयमा राजाहरुले प्रयोग गर्ने गरेको श्रीपेच प्रदर्शनमा राखिएपछि श्रीपेच अवलोकन गर्न जानेहरुको चाप ह्वात्तै बढेको छ । श्रीपेच प्रदर्शनपछि दैनिक दुइहजार अवलोकनकर्ता सङ्ग्रहालय प्रवेश गरिरहेका छन् । श्रीपेच नहुँदा सरदर दैनिक एकहजारको हाराहारीमा अवलोकनकर्ता नारायणहिटीमा जाने गरेका थिए ।
असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्था अन्तरगत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको थियो । नारायणहिटी दरवारको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच, राजदण्ड, सुनको झारी लगायतका सामग्री प्रदर्शनमा छन् ।
सङ्ग्रहालय प्रमुख अद्धैतप्रकाश श्रेष्ठका अनुसार सुर्खेत र रुपन्देही कक्ष आसपासका अन्य चारवटा कोठा पनि सर्वसाधारणको अवलोकनका लागि खुला गरिँदैछ । यी कोठा मध्ये एउटा जनैपूर्णिमामा डोरो बाँध्न उपयोग गरिन्थ्यो भने अन्य वन्द रहेको यी कक्षमा भित्र के छ भन्ने सङ्ग्रहालयलाई नै थाहा हुन नसकेको उनले बताए ।
नारायणहिटी दरवारमा शौचालय तथा स्नानकक्ष बाहेक जम्मा ३८ कोठा छन् । ती मध्ये सात वटा खुल्न बाँकी छ भने हाललाई चार कोठा खोल्ने तयारी भएको छ । प्रमुख श्रेष्ठका अनुसार राजा वीरेन्द्रको निवास श्रीसदन पनि खुला गर्ने तयारीमा छ । श्रीसदन खोलेर सङ्ग्रहालयले अवस्था अवलोकन गरिसकेको छ ।
श्रीसदनमा एउटामात्र भर्याँग भएकाले अवलोकनकर्ताको आवागमनका लागि असहज हुनसक्ने अनुमान गरिएको छ । त्यसैले अवलोकनकर्ताहरु बाहिरिनका लागि बाहिरबाट अर्काे भर्याँग निर्माण गर्ने भन्ने बारेमा छलफल भइरहेको जनाइएको छ ।
नारायणहिटी दरबार संग्रहालयका प्रमुख श्रेष्ठका अनुसार बीचमा दशैँ, तिहार र छठ पर्व परेकोले यी पर्वपछि अवलोकनकर्ताको चाप अझै बढ्ने अनुमान गरिएको बताए । सुरुको दिनमा दुइहजार पाँचसय अवलोकनकर्ता आएका थिए ।